काठमाडौँ \ संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुमा अन्तर्निहित नवीन सोच तथा इनोभेटिभ आइडिया प्रस्फूटन गर्ने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी कार्यालयमा परिपत्र गरेको छ ।
सरकारी कार्यालयका कर्मचारीबाट आएको सोच तथा सुझावलाई सार्वजनिक सरोकारका विषयमा उपयोग गर्ने मन्त्रालयको उद्देश्य छ । मन्त्रालयले आर्थिक वर्ष २०७८\०७९ देखि प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतिभा डबली कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ को दफा ४ बमोजिमको निर्देशन समितिको गत माघ १५ गते बसेको बैठकले नवीन सोंच तथा इनोभेटिभ आइडिया माग गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका सहसचिव उमेश कुमार ढकालका अनुसार सबैबाट आएको बिचारमध्ये शीर्ष १० मा छनौट हुने प्रतियोगीले प्रत्यक्ष प्रस्तुतिकरण गर्नुपर्ने हुन्छ र उक्त कार्यक्रम टेलिभिजनमार्फत प्रसारण गरिन्छ । प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई पुरस्कारको समेत व्यवस्था रहेको जानकारी ढकालले दिए ।