हिउँदमा पूर्वानुमानअनुसार पानी नपर्दा आश्चर्यमा मौसमविद्

0

काठमाडौं \ यस वर्षको हिउँद याममा पूर्वानुमान गरेअनुसार पानी नपरेपछि मौसमविद् मौसमबारे समीक्षा गरिरहनुभएको छ । हिउँदयाममा औषतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिए पनि सोअनुसार पानी परेको छैन ।

हिउँद याममा औषतमा ६० मिलिमिटर पानी पर्नेगरेको थियो । तर यस वर्ष अहिलेसम्म केही स्थानमा फाट्टफुट्ट मात्र पानी परेको छ । मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार यस वर्षको हिउँदयामको अहिलेसम्मको तथ्याङ्क हेर्दा देशका पहाडी भू–भागका एक–दुई  स्थानमा मात्र फाट्टफुट्ट मात्र पानी परेको छ । अपेक्षा गरिएअनुसार पानी पर्न नसक्नुको कारणको समीक्षा गर्न लागिएको उहाँले बताउनुभयो । यस वर्ष पूर्वानुमान गरिएअनुसार पानी नपर्नु मौसमविद्कै लागि आश्चर्यको विषय भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हिउँदायाममा औषतभन्दा बढी पानी पर्ने आङ्कलन गरेका थियौँ, पश्चिमी वायुको प्रभाव बढी हुने आङ्कलन थियो। तर अहिलेसम्म सोचे अनुसारको बलियो प्रभाव पर्न नसकेको बारे समीक्षा गर्दैछौं ।” उहाँका अनुसार पश्चिमी वायु नेपाल प्रवेश नगरेको भने होइन । तर, वायुको प्रभाव एकदमै नगन्य भएकाले नेपालभर यसको प्रभाव नगन्य रूपमा रहेको उहाँको भनाइ छ ।

सामान्यतया मङ्सिर १६ देखि फागुन १६ सम्मको समयलाई हिउँदयामको रूपमा लिइन्छ । अबको बाँकी अवधिमा पनि ठुलो पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ । वरिष्ठ मौसमविद् पोखरेलले भन्नुभयो, “हिउँदमा अबको बाँकी समयमा पनि पश्चिमी वायुको प्रभाव त्यति बढी देखिँदैन । त्यसैले पानी पर्ने सम्भावना न्यून छ ।”

Leave A Reply

Your email address will not be published.