पुनः बस्ने गरी सकियो सत्ता गठबन्धनको बैठक

0

काठमाडौं \  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताउनुभएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलको बैठकले सिट बाँटफाँटको विषय अझै टुङ्ग्याउन नसकेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै कांग्रेसका प्रमुख सचेतक लेखकले सरकारमा सहभागी चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुको बीच छलफल भएको तर सिट बाँटफाँटको विषय टुङ्गिनसकेको बताउनुभयो । उहाँले आज साँझ वा शुक्रबार बिहान पुनः बस्नेगरी बैठक सकिएको बताउनुभयो ।

‘‘सरकारमा सहभागी चार राजनीतिक दलका नेताहरुको छलफल भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुको बीचमा छलफल भएको छ । मूलतः राष्ट्रिय सभाको विषयलाई लिएर छलफल भएको छ ।,’’ प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘‘थप छलफल गर्न बाँकी छ, त्यसका लागि फेरि साँझ वा भोलि बिहन बस्ने गरी उठेका छौँ । ’’ प्रमुख सचेतक लेखकले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘एमालेसँगको छलफल, समसामयिक राजनीतिक विषयमा भइरहेको हुनाले एमालेसँगको संवाद पनि समसामयिक विषयमा जारी रहन्छ, गठबन्धनको संवाद पनि जारी रहन्छ । गठबन्धनका राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सभाकै विषयलाई केन्द्रमा राखेर छलफल भइरहेको छ । एमालेसँग समग्रतामा समसामयिक विषयमा छलफल भइरहेको छ ।’’

Leave A Reply

Your email address will not be published.