भूकम्प प्रभावितका लागि प्रधानमन्त्री सहायता कोषमा झण्डै २८ करोड सङ्कलन

0

जाजरकोट भूकम्पबाट प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा झण्डै २८ करोड रुपैयाँ सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टकाअनुसार कोषमा विभिन्न संस्था तथा व्यक्तिबाट अहिलेसम्म २७ करोड ९१ लाख ८९ हजार ८ सय ९९ रुपैयाँ जम्मा भएको छ । गएको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प भएको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम भैरहेको छ । अहिलेसम्म १५ हजार ४ सय अस्थायी आवास निर्माण भएका छन् । १० हजार ३ सय निर्माणको अन्तिम चरणमा रहेकाे सरकारले जनाएको छ । भूकम्पबाट २६ हजार ५ सय २८ घरमा  पूर्ण रूपमा र ३५ हजारभन्दा धेरैमा आंशिकरुपमा क्षति पुगेको तथ्याङ्क छ ।

अस्थायी आवास निर्माण गर्न चार अर्ब ७९ करोड रुपैयाँ आवश्यक पर्ने र  अहिलेसम्म चार अर्ब ७१ करोड निकासा भइसकेको सरकारले जनाएको छ । जाजरकोट भूकम्प गएको दुई महिना बितिसकेको छ ।

भूकम्पले घरबारविहीन भएका परिवारलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्तामा २५ हजार र निर्माण सम्पन्न भएपछि २५ हजार रुपैयाँ गरी सरकारले प्रतिपरिवार ५० हजार रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो ।

भूकम्पलगत्तै खोज र उद्धारमा सरकार सक्रिय भए पनि त्यसपछि आवास निर्माण र पुनर्निर्माणको काम सुस्त भएको छ । आफूहरु कठ्याङि्ग्रँदो चिसोमा त्रिपालकै भरमा बस्नुपरेको पीडितको गुनासो छ ।

Leave A Reply

Your email address will not be published.