प्रधानमन्त्रीले भेटे विपिन जोशीका अभिभावक

0

कैलाली \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग भेट गर्नुभएको छ ।

शुक्रबार कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले जोशीका बुबाआमासँग भेट गर्नुभएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । भेटमा जोशी बुबाआमाले विपिनको उद्धारको पहलबारे प्रधानमन्त्रीसँग सोध्नुभएको थियो । सो क्रममा प्रधानमन्त्रीले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सव उद्घाटन कार्यक्रममा सहभागी हुन आज बिहान कैलाली पुग्नुभएको छ । सोही क्रममा प्रधानमन्त्रीले जोशी परिवारसँग भेटघाट गर्नुभएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनरत विपिनसहितका ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन हुनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.