देशमा भाषणभन्दा काम गर्ने समय आयो : सभापति देउवा

0

बुटवल \ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताउनुभएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले कम बोल्ने तर काम गर्ने आफ्नो स्वभाव रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपाली कांग्रेस अझै बलियो र एकताबद्ध बन्ने विश्वास व्यक्त गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तो पवित्रस्थल क्षेत्र भएकोले यहीँबाट नेपाली कांग्रेसलाई बलियो बनाउन लुम्बिनी प्रदेश सम्मेलनले महत्त्वपूर्ण सन्देश दिने बताउनुभयो।

सभापति देउवाले बुद्धको जीवन दर्शनप्रति विश्वभर नै आस्था बढ्दै गएको बताउँदै अन्य धार्मिक समुदायले समेत बुद्धिजमलाई आत्मसाथ गरेकोले लुम्बिनीको भूमिमा भइरहेको कांग्रेसको प्रदेश सम्मेलन महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनले भूकम्प पीडितलाई मल्हम लगाउनेतर्फ महत्त्वपूर्ण निर्णय गरोस् भन्नुभयो। उहाँले अहिलेसम्म नेपाली कांग्रेसले देशलाई हरेक मोडमा नेतृत्व गरेको बताउँदै अब पनि नेतृत्व गर्ने दिन आएको बताउनुभयो।

महामन्त्री शर्माले देशको अभिभावकत्व कांग्रेसले गर्नुपर्छ भन्दै अब व्यवस्थामा परिमार्जन र अवस्थामा परिवर्तन चाहिएकोले कांग्रेसको सङ्गठनलाई बदल्नु जरुरी रहेकोमा जोड दिनुभयो।

Leave A Reply

Your email address will not be published.