कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डसहित नेपाली प्रतिनिधिमण्डल आज राति १० बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । नेपाली टोलीमा वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोलगायत अन्य उच्चाधिकारी सहभागी हुनेछन् ।

कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित देशहरुको तर्फबाट नेपालले अध्यक्षतासहित प्रतिनिधित्व गर्दैछ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यूएईको दुबइमा भोलि सम्मेलनको उद्घाटन समारोह हुँदैछ । आयोजक यूएईले सम्मेलनको अध्यक्षता गर्नेछ ।

कोप–२८ मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । भोलिदेखि १३ दिनसम्म चल्ने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड भोलि र पर्सि आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनुहुने कार्यसूची रहेको मन्त्रालयले जानकारी दिएको छ ।

उहाँले शुक्रवार सत्रलाई सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री प्रचण्डले शुक्रवार नै ‘कल अफ दी माउन्टेन : हु सेभ अस फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउनुहुनेछ । यो सत्रमा उहाँले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तन र तापक्रमको असर बुझ्न र हेर्नका लागि अपिल गर्नुहुने तयारी छ ।

प्रधानमन्त्री प्रचण्डले सम्मेलनका क्रममा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवम् उच्चस्तरीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुहुनेछ । साथै उहाँले यूएईमा हुन लागेको नेपाल–यूएई व्यापार सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । नेपाली टोली शनिवार स्वदेश फर्किने छ ।

कोप–२८ : यस्ता छन् नेपालका प्राथमिकता    

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले बताउनुभयो ।

मन्त्रालयले सम्मेलनमा प्रस्तुत गर्नका लागि राष्ट्रिय स्थिति पत्र नै तयार गरेको छ । विकास व्यवस्थापन विज्ञ तथा जलवायु सल्लाहकार डा पुपलर जेन्टलका अनुसार यो सम्मेलनमा उच्चस्तरीय सहभागिताका साथै अन्य दृष्टिकोणले पनि नेपालका लागि थप महत्त्वपूर्ण हुनेछ । सम्मेलनको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत कात्तिक १२ गतेदेखि नेपालको चारदिने औपचारिक भ्रमण गर्नुभएको थियो । उहाँले सगरमाथा र अन्नपूर्ण आधारक्षेत्रको स्थलगत भ्रमण गरी जलवायु परिवर्तनको विषयलाई दिएको प्राथमिकताले पनि यस सम्मेलनमा नेपाललाई आफ्ना विषय उजागर गर्न सहज हुने अपेक्षा छ।

Leave A Reply

Your email address will not be published.