तीन दलको एकता कायम रहला ?

0

काठमाडौं, १८ असोज । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकमा सहमति मै आगामी सरकार बनाउने बारेमा छलफल भएको छ । प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान जारी गर्दा तीन दलबीच देखिएको सहमति, सहकार्य र एकतालाई निरन्तरता दिई अगाडि बढ्नेबारे छलफल भएको हो । बैठकमा आन्दोलनरत मधेसी मोर्चासँग भएका वार्ताका बारेमा समीक्षा भएको एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले बताउनुभयो । उहाँका अनुसार बैठकमा सीमानाकामा देखिएको अघोषित नाकाबन्दीका विषयमा समेत छलफल भएको थियो । अघोषित नाकाबन्दी खुलाउन कूटनीतिक एवम् राजनीतिक तहमा छलफल भइरहेको बताउँदै उपाध्यक्ष भण्डारीले भूपरिवेष्ठित देशले पाउने पारवहन सुविधाका विषयमा भारत सरकारसँग उच्च तहसँग छलफल भइरहेको जानकारी दिनुभयो । तीन दलका तर्फबाट गठित वार्ता टोली र आन्दोलनरत दुवै मधेसी मोर्चाबीच अहिलेसम्म भएका वार्ताका उपलब्धिका विषयमा आफूहरुले बैठकलाई जानकारी गराउनुका साथै त्यस विषयमा समीक्षा भएको काँग्रेस केन्द्रीय सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले बताउनुभयो । आन्दोलनरत पक्षको माग बमोजिम सीमाङ्कनका विषयमा संविधान संशोधन तथा सङ्घीय आयोगलाई क्रियाशील बनाएर अगाडि बढ्ने विषयमा बैठकमा छलफल भएको मन्त्री आचार्यले बताउनुभयो । सरकारले आन्दोलनरत पक्षको मागबमोजिम वार्ताको वातावरण बनाउन सम्पूर्ण कार्य गरिसकेको मन्त्री आचार्यको भनाइ थियो । आजै अपराह्न बस्ने व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको संयुक्त बैठकका बारेमा पनि बैठकमा विचारविमर्श भएको थियो । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीन दलबीच आगामी दिनमा पनि ‘सहमति, सहकार्य र एकताकै आधारमा अगाडि बढ्ने प्रयत्न गरौं’ भन्नेमा छलफल केन्द्रित भएको बताउनुभयो । बैठकमा प्रधानमन्त्रीले सञ्चारमाध्यममा बाहिर आएजस्तो आफ्नो व्यक्तिगत कुरा केही नभएको बताउनुभएको उहाँले जानकारी दिनुभयो । नाकाबन्दीको विषयमा प्रमुख तीन दल गम्भीर बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो विषयमा हामी तीन पार्टी गम्भीर भएका छौँ । तीन दलले भारतको उच्च नेतृत्वसँग कुराकानी गर्नुपर्छ । भारतको अघोषित नाकाबन्दी कायमै रहेको छ । त्यो आपत्तिजनक छ ।” बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललगायत तीनै दलका दोस्रो तहका नेताको पनि सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.