मधेसी मोर्चा वार्तामा बस्न तयार

0

काठमाडौं, १८ असोज । संयुक्त लोकतान्तिक मधेसी मोर्चाले सरकारसँग जुनसुकै बेला वार्ता गर्न तयार रहेको बताएको छ । मोर्चाको  बैठकले वार्ता गर्नका लागि चार सदस्यीय वार्ता टोली गठन गर्दै तीनदलसहितको सरकारी वार्ता टोलीसँग वार्ता गर्न तयार भएको जनाएको हो ।
वार्ताटोलीमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, सङ्घीय समाजवादी फोरम नेपालका लालबाबु राउत, तराई मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता सर्वेन्द्रनाथ शुक्ल र तराई मधेस समाजवादी पार्टीका वरिष्ठ नेता रामनरेस राय रहनुभएको छ ।
“हामी वार्ताको पक्षमै छौँ, वार्ताको वातावरण बनाउनका लागि आज वार्ताटोली गठन गरेका हौँ । सरकारी वार्ताटोलीबाट तदारुकता आएको खण्डमा हामी जुनसुकै बेला वार्तामा बस्न तयार छौँ”– मोर्चाको एक घटक सद्भावना पार्टीका सहअध्यक्ष कर्णले रासससँग भन्नुभयो ।
सहअध्यक्ष कर्णले वार्ताका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्ने भन्दै त्यसका लागि मोर्चा पनि प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । बैठकपछि मोर्चाले विज्ञप्तिमार्फत सरकारले उपयुक्त वातावरण बनाउनुपर्छ भन्दै आफ्नो प्रस्तावका साथ प्रस्तुत हुने सार्थक र परिणाममुखी वार्ताका लागि सरकार र सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.