वार्ताबाटै समाधान खोज्न माग

0

काठमाडौ, १२ असोज । मानवअधिकारकर्मीले मधेसमा भइरहेको आन्दोलन वार्ताबाटै निकास खोज्न सरकारसँग आग्रह गरेका छन् । मधेस आन्दोलनका सम्बन्धमा नेपाल मानवअधिकार सङ्गठनको पत्रकार सम्मेलनमा मानवअधिकारकर्मी डा सुन्दरमणि दीक्षितले नेपालीले आफ्नो हकअधिकार खोज्दा नाकाबन्दी भएकाले वार्ताबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मधेसी जनतालाई पछाडि राखेर देश अगाडि बढ्न नसक्ने भन्दै मधेसी दललाई साथमा लिएर अगाडि बढ्न सत्तापक्ष दललाई आग्रह गर्नुभयो । मानवअधिकारकर्मी चरण प्रसाईंले देशलाई ठप्प पार्ने गरी मधेसी दलले गरेको क्रियाकलाप ठीक नभएको भन्दै देशलाई अप्ठ्यारो परेका बेला सबै दल एकबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले भारतले लगाएको अघोषित नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरीत भएको उल्लेख गर्नुभयो ।
मानवअधिकारकर्मी डा दिनेश त्रिपाठीले संविधान बनिसकेकाले यसमा भएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मधेसबिना नेपालको इतिहास अधुरो हुन्छ ।” अधिवक्ता दीपेन्द्र झाले संविधान संशोधन गरेर भए पनि मधेसी जनताको भावनालाई समेट्नुपर्ने बताउनुभयो ।
नेपाल सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमन, तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री गोविन्द चौधरी, केन्द्रीय सदस्य रामबाबु सिंहलगायतले मधेसी जनताको हक र अधिकारका लागि आन्दोलन गरेको बताउँदै मधेसीको मागलाई सम्बोधन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.