माओवादीले भारतीय गाडी र चलचित्र बन्द गर्ने

0

नेकपा माओवादीले भारतीय नाकाबन्दीका बिरुद्ध आज आइतवार २ बजे शान्तिवाटिकादेखि भारतीय दुतावाससम्म विरोध पर्दशन गर्न जाँदैछ । उसले संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भोलिबाट नेपालमा भारतीय नम्बरप्लेटका गाडी चल्न रोक लगाउने र भारतीय चलचित्र तथा विज्ञापन बन्द गर्ने बताए । त्यसको विकल्पमा नेपाली चलचित्र र नेपाली कलाकार तथा विज्ञापनलाई  प्रस्तुत गर्नुपर्ने बताउँदै उनले भने, ‘भारतीय टेलीभिजन च्यानललाई रोक लगाउने नीति लिएका छौ ।’
सो नाकाबन्दीका विरुद्ध वैकल्पिक आपूर्ती व्यवस्थाका निम्ति तुरुन्तै पहल गर्नुपर्ने, कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गरी आन्तरिक आपूर्तिलाई सहज बनाउने र नाकाबन्दीका विरुद्ध विरोध प्रदर्शन गर्नुपर्नेमा पनि जोड दिए । उनले नेपाली जनताको २००७ सालयतादेखिको परिवर्तनको चाहना, पछिल्लो दिनमा १० वर्षको जनयुद्ध र १९ दिनको जनआन्दोलनको राजनीतिक मुद्दा भएर व्यक्त हुँदा पनि सम्बोधन हुन नसकेको दावी गरे । उनले आवश्यक परे राष्ट्रिय मुक्ति युद्धको कदम उठाउन तयार रहेको पनि बताए ।
उनका अनुसार, २०६३ सालयताको सङ्क्रमणकालीन राजनीतिक यात्रामा नेपाली जनताको संविधान बनाएर पुरानो राज्यसत्ता र शासन व्यवस्था बदली नेपाल राष्ट्रलाई स्वाधीनता र आफूलाई राजनीतिक अधिकारले सम्पन्न बनाउन नेपाली जनताको उद्देश्य र चाहनाको असोज ३ गते जारी गरिएको संविधानले सम्बोधन गर्न सकेन ।
‘थारु मधेसीलगायत नेपाली जनताले फेरि आन्दोलनको सहरा खोज्नुपर्ने भयो’ भन्दै उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– तीन दलले संविधान जारी पनि गर्ने, त्यसका विरुद्ध थारु मधेसीलगायत जनता झन्डै ३ हप्ता अगाडिबाट संविधानका मस्यौदाका विरुद्ध आन्दोलनमा होमिने यी दुई किसिमका नाजायज फाइदा उठाउँदै नेपाली राष्ट्रियतामाथि सन् १९५० देखि लगातार हस्तक्षेप गर्दै आएको भारतीय शासकवर्गले अहिले नेपाल राष्ट्र, नेपाली जनताका विरुद्धमा नाकाबन्दी गरेको छ ।

Leave A Reply

Your email address will not be published.