कांग्रेसले माग्यो हत्या अभियोग लागेका सांसद कोइरीबारे गृहमन्त्रीसँग जवाफ

0

काठमाडौं : नेपाली कांग्रेसले हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका सांसदले प्रतिनिधिसभाको बैठकमा भाग दिनुको कारणबारे गृहमन्त्री रवि लामिछानेसँग जवाफ मागेको छ ।

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएपछि कांग्रेसले गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखलाई प्रश्न गर्दै भने, ‘हत्याको अभियोग लागेको सांसद यहाँ हुनुहुन्छ भन्ने सुनियो हामी त चिन्दैनौँ तर गृहमन्त्रीज्यू पनि यहीँ हुनुहुन्छ । उहाँको मतदान प्रक्रिया रोकियोस् ।’

‘अहिले सभामुखको निर्वाचन हुँदैछ । आज सभामुखको निर्वाचन हुने बेलामा हत्या अभियोग लागेका सांसद्हरु पनि यहीँभित्र छन् भन्ने सुनिन आएको छ । म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु हामी चिन्दैनौं उहाँलाई । यदि उपस्थित हुनुहुन्छ भने उहाँलाई मतदान प्रक्रियामा भाग लिन पाउने नपाउने निर्क्योल गरेर मात्रै सभा सञ्चालन गरियोस् भन्ने माग गर्न चाहन्छु,’ खतिवडाले भने ।

सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरी निर्बाध संसद् आउजाउ गर्दा पनि पक्राउ परेका छैनन् । प्रहरीको फरार सूचीमा रहेकै बेला महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले पुस २६ मा संघीय संसद्मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए ।

सांसद खतिवडाले हत्या अभियोग लागेर प्रहरीको खोजीसूचीमा रहेका व्यक्तिलाई मतदानको अधिकार दिन नमिल्ने भन्दै उनलाई संसदमा प्रवेश गर्नु दिनुको कारणको जवाफ गृहमन्त्रीले दिनुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.