काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले यसपटक आफ्नै पूर्वकार्यकर्ता महेश बस्नेतसँग पराजय बेहोरेका छन् । निकै ढिलोगरी गणना भएको इलाम–१ बाट खनाल दुई हजार बढी मतान्तरल एमालेका बस्नेतसँग पराजित भएका हुन् । बस्नेत एक्लै मैदानमा थिए भने खनाललाई सत्तारुढ गठबन्धनको समर्थन थियो ।
तर आफै संस्थापक भएर बनाएको एमालेविरुद्ध जित निकाल्न सकेनन् । यो नतिजाले आगामी पाँच वर्षका लागि संसदीय बाटो बन्द मात्रै भएको छैन, खनालको राजनीतिक करिअरमा पनि असर पुगेको छ । एमालेका संस्थापक नेता खनालले १२ वर्ष पार्टी नेतृत्व गरेका थिए भने अध्यक्ष भएकै बेला २०६७ मा प्रधानमन्त्री भएका थिए । गएको वर्ष एमाले विभाजन हुँदा खनाल नेकपा एकीकृत समाजवादीतिर लागेका थिए । खनालको पराजयले एकीकृत समाजवादीलाई समेत ठूलै धक्का लागेको छ ।
यो चुनाव हार्ने खनाल शीर्ष नेता समेत हुन् । खनालपछि एमालेकै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायत चुनाव हार्ने ठूला नेता हुन् । काठमाडौं–२ बाट पोखरेल कांग्रेस उम्मेद्वार प्रदीप पौडेलसँग पराजित भए । तनहुँका पौडेल मनोनयन दर्ता गर्ने अन्तिम समयमा काठमाडौं आएका थिए । उनले एमालेका ठूला नेता पोखरेललाई सजिलै हराएका छन् ।
महासचिव शंकर पोखरेलले दाङ–२ बाट पराजय बेहोरे । पोखरेल माओवादी केन्द्रका रेखा शर्मासँग पराजित भए । पोखरेललाई यो पराजयबाट ठूलै धक्का लागेको छ । यसअघि गुल्मी–१ बाट जित्दै आएका प्रदीप ज्ञवाली समेत यो चुनावमा पराजित भए । पूूर्वमन्त्री एवम् एमाले उपमहासचिव ज्ञवालीलाई कांग्रेसका चन्द्र भण्डारीले पराजित गरे । एमाले सचिव लेखराज भट्ट कैलाली–४ बाट पराजित भए ।
मधेश आन्दोलनका नेतृत्व गरेर राष्ट्रिय राजनीतिमा आएका उपेन्द्र यादव पनि यसपटक संसदमा आउन सकेनन् । ०७० मा पनि उपेन्द्र मोरङ–५ बाट पराजित भएका थिए । तर त्यसबेला उनी सुनसरी–५ बाट निर्वाचित भए । तर संविधानले दुई ठाउँबाट चुनाव लड्न नपाउने व्यवस्था गरेपछि यादव सप्तरी–२ सरेका थिए । यो क्षेत्रबाटै ०७४ को चुनाव जितेका यादवले यसपटक जित्न सकेनन् । उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले हराएका छन् ।
चुनाव हार्नेमा गृहमन्त्री बालकृष्ण खाँण पनि यसपटक परेका छन् । ०६४ को चुनावमा गृहमन्त्री कृष्ण सिटौला पराजित भएका थिए । सिटौला जस्तै खाँण पनि यसपटक राप्रपाका दीपक बोहोरासँग पराजित हुन पुगे । पराजित हुने पूर्वमन्त्रीहरुको सूची लामै बन्छ । जसलाई जनताले अनुमोदन गरेन ।