प्रचारप्रसारको आज अन्तिम दिन

0

काठमाडौं : अन्ततः अर्को पाँच वर्षका लागि जनप्रतिनिधि चयनको अन्तिम समय आएको छ । गएको २३ असोजमा उम्मेदवारी दिएका उम्मेद्वारहरुले आज मध्यरातसम्म मात्रै प्रचारप्रसार गर्न पाउनेछन् ।  

निर्वाचन आयोग र सरकारले मतदानको अन्तिम तयारी अगाडि बढाएको छ । ४ मंसिरमा हुने मतदानका लागि गृह प्रशासनले २० वटा सुरक्षा रणनीतिका कार्य योजना तयार पारेको छ । त्यस अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी सहितको सुरक्षा योजना कार्यान्वयन हुनेछ । आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार, अवस्थालाई ध्यान दिएर सामान्य, संवेदनशील र अति संवेदनशील मतदान केन्द्र निर्धारण भएको छ । 

आयोग र सरकारी क्षेत्रजस्तै आयोगले पनि मौन अवधिको थालनि गर्दैछ । यो अवधिमा आयोगले उम्मेद्वारहरुले निर्वाचन आचारसंहिता पालना गरे÷नगरेको तर्फ ध्यान दिनेछ । आयोगले मौन अवधि शुरु भएपछि सामाजिक सञ्जाल, अनलाइन, छापा लगायत कुनैपनि माध्यमबाट उम्मेद्वारसँग सम्बन्धित सूचना प्रचार गर्न पाइनेछैन । 

उम्मेद्वारहरुले प्रचारप्रसारको अवधिमा तयार पारेका प्रचार सामग्री मतदान केन्द्र वरपरबाट हटाउनुपर्नेछ । आयोगले मतदान केन्द्र नजिक राखिएका प्रचार सामग्री हटाउन निर्देशन दिएको छ । उम्मेद्वारहरुले त्यो निर्देशन पालना गर्नुपर्नेछ । 

अर्थात् उम्मेद्वारहरुको प्रचार कार्य सकिएको छ । यसपटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दुई हजार ४१२ र प्रदेशसभातर्फ तीन हजार २२४ जना उम्मेदवारले उम्मेद्वारी दिएका छन् । यसमध्ये ठूला दलहरुले भने गठबन्धन गरेर उम्मेद्वारी दिएका छन् । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । 

नेकपा एमाले नेतृत्वको गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, नेपाल परिवार दल लगायतको गठबन्धन छ । यी दुवै गठबन्धनमा आवद्ध दलहरुले छुट्टा–छुट्टै दलगत घोषणापत्र ल्याएका छन् । कतिपय उम्मेद्वारले भने व्यक्तिगत घोषणापत्र समेत ल्याएको छ । नयाँ र स्वतन्त्र उम्मेद्वारहरुले पनि आफ्नो तर्फबाट ल्याएको घोषणापत्रको प्रचारप्रसार गरेका छन् । 

तर त्यो आफूले मतदाता रिझाउन ल्याएको घोषणापत्रको प्रचार कार्य पनि आज मध्यरातबाट सकिदैछ । यो अवधिमा दलहरुले आर्थिक बृद्धि दोहोरो अंकमा लैजाने, भौतिक पूर्वाधार विकासमा नयाँ कीर्तिमान कायम गर्ने, सामाजिक सुरक्षातर्फ विशेष प्याकेज ल्याउने, सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने जस्ता प्रतिबद्धता गरेका छन् । 

ठूला दलहरुले लगभग यसअघिकै जस्तो भाषा र शैलीमा घोषणापत्र ल्याएका थिए । तिनै घोषणापत्रमा उल्लेखित प्रतिबद्धता मतदातालाई सुनाएका छन् । भोलिबाट भने उम्मेद्वारहरुले आफ्नो प्रतिबद्धता सुनाउन पाउनेछैनन्, यदि त्यसो गरेमा निर्वाचन आचारसंहिता बिपरीत हुनेछ । त्यसैले अब उम्मेद्वारहरुले मतदातासम्म आफ्नो कुरा सुनाउने समय सकिदैछ । भोलिबाट मतदाताले मतदानको तयारी गर्नुपर्नेछ । 

Leave A Reply

Your email address will not be published.