काठमाडौं : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चर्चित नेताहरुले टिकट पाएनन् । पार्टी नेतृत्व विरुद्धमा आलोचना गर्ने नेताहरुले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायत दलमा टिकट पाएनन् ।
जसमा एमालेका नेता भीम रावल, घनश्याम भूसाल, मिनेन्द्र रिजाल, स्वर्णिम वाग्ले, हरिबोल गजुरेल, लेखनाथ न्यौपाने लगायत परे । विभिन्न पार्टी परित्याग गरेर नवप्रवेशी व्यक्तिलाई टिकट दिदाँ एमालेमा भीम रावल र घनश्याम भुसाललाई अध्यक्ष केपी शर्मा ओलीले टिकटै दिएनन् ।
पार्टीले टिकट नदिएपछि घनश्याम भुसालले एमाले परित्याग गरेर स्वतन्त्र उम्मेद्वारी दिएका छन् । भूसाललाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ । रुपन्देही–१ मा भाग पाएको माओवादी केन्द्रले अलग्गै उम्मेद्वारी नदिएर भूसाललाई समर्थन गरेको हो । अब सत्तारुढ गठबन्धनको उम्मेद्वार भूसाल हुनेछन् । मूलतः संसद विघटनपछि ओलीविरुद्ध अभिव्यक्ति दिएकै कारण रावल र भुसालले टिकट नपाएका बुझ्न सकिन्छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनदेखि पटक÷पटक सभापति शेरबहादुर देउवाको कार्यक्षमतामाथि प्रश्न उठाएकै कारण पूर्वमन्त्री मिनेन्द्र रिजालले टिकट पाएनन् । रिजालले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा शेखर कोइराला प्यानलबाट पार्टी महामन्त्री पदमा उम्मेदवारी दिएका थिए । महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाटै राजीनामा गरेका थिए । ०७४ मा कांग्रेसले देशभर चुनाव हार्दा थोरै जित्नेमा रिजाल थिए । तर तिनै रिजालले टिकट पाएनन् ।
देउवा भन्दा पनि कोइराला पक्ष निकट रहेका अर्थविद् स्वर्णिम वाग्लेले निकै चर्चाबीच पनि टिकट पाउन सकेनन् । उम्मेद्वारीका लागि चितवन, गोरखा र काठमाडौंका विभिन्न क्षेत्रमा तयारी गरेपनि उनलाई देउवाले टिकट नै दिएनन् । माओवादी जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका नेता हरिबोल गजुरेलले पनि ठूलो आंकाक्षकाबीच टिकट नै पाउन सकेनन् ।
पटकपटक आफूलाई अवशरबाट वञ्चित गरेको गुनासो गर्दै आएका गजुरेल पार्टीले टिकट दिनेमा विश्वस्त थिए । टिकट नपाएपछि उनी थप असन्तुष्ट बनेका छन् । त्यस्तै, उनकै पार्टीका बौद्धिक नेता गनिने लेखनाथ न्यौपाने पार्टी नेतृत्वको आलोचना गरेकै कारण टिकटबाट वञ्चित भएका छन् । नेतृत्वकै आलोचना गरेका कारण पार्टीमा लामो समय योगदान गरेकालाई वञ्चित गर्ने र नयाँलाई अवशर दिने प्रवृत्ति गलत भएको भन्दै केही नेताकार्यकर्ताले विरोध पनि गरेका छन् । यद्यपि, आफ्नो आलोचना गर्नेलाई सकेरै छाड्ने रणनीतिमा नेताहरु लागिपरेका छन् ।