खुट्टा नकमाउन शीर्ष नेतालाई सुझाव

0

काठमाडौँ, २५ भदौ । ‘नेपालको संविधानको परिमार्जित विधेयक २०७२’ माथि संविधानसभामा जारी दफाबार छलफलमा भाग लिँदै सभासद्हरुले आन्दोलनरत दलसँग संविधानको प्रक्रिया रोकेर होइन, संविधानको प्रक्रियालाई निरन्तरता दिँदै वार्तामा बस्न प्रमुख दलका शीर्ष नेतालाई सुझाव दिनुभएको छ ।
उहाँहरुले भन्नुभयो, “संविधानलाई अघि बढाउने सन्दर्भमा तराईमा भएको आन्दोलनसँगै एकपटक फेरि अनिश्चितताको कालो बादल मडारिन थालेको महसुस भएको छ ।”
सञ्चारमाध्यमबाट संविधानसभाको आजको बैठकबाट संशोधन प्रस्तावका बारेमा मतदान प्रक्रिया सुरु हुने सूचना सम्प्रेषण भएकाले जिल्ला जिल्लाबाट बैठकमा के हुँदैछ भनेर फोनबाट सोध्ने क्रम भइरहेकामा अब के जवाफ दिने भनेर नाजवाफ र अन्यौलको स्थिति पैदा भएको छ– सभासद्हरुले भन्नुभयो ।
महिला र गरिबहरुको आवाजलाई सम्बोधन गर्न सिद्धान्तको राजनीतिमा वकालत गर्नुपर्नेमा त्यसो नभई अहिले पैसाका लागि राजनीति भइरहेको छ भन्दै उहाँहरुले राज्यविहीनको अवस्थामा सरकार बन्न नहुने तथा वार्ताका लागि आन्दोलनकारीले पनि सर्त राख्न नहुने तर्क गर्नुभयो ।
मिलेर बसेको नेपाली समाजमाथि जातीय सद्भाव बिथोल्न धावा बोल्ने काम भएको, आन्दोलनकारी पक्षबाट आफूलाई मात्र मधेसी देख्न अरु राजनीतिक दलका नेताहरुको मानमर्दन गर्ने काम भएको भनी उहाँहरुले आपत्ति जनाउनुभयो । लोकतन्त्रका लागि विभिन्न समयमा भएका आन्दोलनका सहयात्रीबीचको सहमति कायममै राखेर यथाशीघ्र संविधान जारी गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
सभासद्हरु अनिता देवकोटा, भरतबहादुर खड्का, चन्द्रबहादुर गुरुङ, सकलदेव सुतिहार, बहादुरसिंह लामा, पाँचकर्ण राई, भवानी खापुङ्ग, सञ्जयकुमार गौतम, रामहरि सुवेदी, दिलिप सवास गच्छदार, विदुर सापकोटा, कृष्णप्रसाद पौडेल, तारादेवी राई, नारायणबहादुर कार्की, मनमोहन भट्टराई, मुख्तर अहमद, रन्जना सरकार, रेवतीरमण भण्डारी, भोटनीदेवी खवास, हर्कबोल राई, शान्तिदेवी चौधरी, मञ्जु चौधरी, रामेश्वर ढुङ्गेल, कमल पङ्गेनी, सूर्यदेव दास उरावले आजको दफाबार छलफलमा भाग लिनुभएको थियो । संविधानसभाको अर्काे बैठक यही २७ गते आइतबार ११ः३० बजे बस्नेछ ।

Leave A Reply

Your email address will not be published.