बहुमतमा संविधान बनाए द्वन्द्व

0

काठमाडौं, २२ भदौ  । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानसभामा आफ्नो असहमति राख्दै मंगलबार संविधानसभाको बैठक बहिस्कार गरेको छ । मोर्चाका तर्फबाट बैठकमा बोल्दै तराई मधेस सदभावना पार्टीका सभासद महेन्द्र यादवले बहुमतका आधारमा संविधान बनाइए मुलुकमा द्धन्द्ध हुने चेतावनी दिए ।
यादवले वार्ताको लागि वातावरण बनाउनुको साटो अमानवीय र क्रूर ढंगले जनतामाथि आक्रमण भएको बताए । देशको आधा जनसंख्या आन्दोलनमा रहेको बेला संविधान जारी गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए ।
मधेसी मोर्चासँग भएका सहमति कार्यान्वयन नगरिएको उनले आरोप लगाए । उनले सहमतिका आधारमा नभइ बहुमतका आधारमा संविधान बनाउने काम भएकाले तराई मधेसमा आन्दोलन भएको बताए ।
अन्तरिम संविधानको भावना र मर्मलाई समेटिनुको साटो विगतमा भएका सहमतिलाई उल्टाउने काम गरिएको यादवको भनाइ छ । आन्दोलनप्रति बेवास्ता गरिएको भन्दै उनले भने–‘अन्तरिम संविधानमा नभएको व्यवस्थलाई लत्याएर तराईमा सेना परिचालन गरियो र पुरै तराई मधेसलाई ब्यारेगीकरण गरियो ।’
यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च थारुहटकी सभासद रुकमीणी चौधारीले विभिन्न आन्दोलनबाट उपलब्ध अधिकार गुम्ने खतरा भएको बताइन् । उनले आदिवासी भूमिपुत्रले गरेको शान्तिपूर्ण आन्दोलनलाई सरकारले दमन गर्न खोजेको आरोपसमेत लगाइन् ।
शान्तिपूर्ण आन्दोलन भएको २८ दिन बित्दापनि त्यसलाई सम्बोधन नगरी बेवास्ता गरिएको र संविधानसभामा रहेका ३१ ओटा दलमा ३ दलले मात्र जारी गर्ने संविधानलाई स्वीकार्न नसकिने भन्दै आफ्नो पार्टी संविधानसभाको बैठकबाट बाहिरिएको जानकारी गराइन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक भने बैठकमा नै उपस्थित भएको थिएन ।

Leave A Reply

Your email address will not be published.