मतपरिणाम आउने क्रम जारी : हालसम्म कसले कति पालिका जिते ?

0

काठमाडौं : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । मंगलबार बिहानसम्म २४७ स्थानीय तहको अन्तिम परिणाम आएको छ । 

जसमध्ये ११५ स्थानीय तहमा नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ । कांग्रेसले परिणाम आएकामध्ये ४६ दशमलव ५ प्रतिशत पालिकाको नेतृत्व जितेको हो । 

दोस्रो स्थानमा रहेको नेकपा एमालेले ६४ स्थानीय तहमा नेतृत्व जितेको छ । एमालेले परिणाम आएका मध्ये २५ प्रतिशत पालिकाको नेतृत्व जितेको छ । 

तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले ५३ स्थानीय तहको नेतृत्व जित्दा नेकपा एकीकृत समाजवादीले ४ स्थानीय तहमा नेतृत्व लिएको छ । 

त्यस्तै पाँच स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले नेतृत्व जितेका छन् । जसपाले ३ पालिका जित्दा नेमकिपा र राष्ट्रिय जनमोर्चाले १–१ पालिकाको नेतृत्व जितेका छन् ।

यसैबीच ३० वैशाखमा स्थगित भएका क्षेत्रमा पुनः मतदान भइरहेको छ । आइतबार र सोमबार केही क्षेत्रमा मतदान भएकोमा मंगलबार काभ्रे, कञ्चनपुर, बाजुरा र अछाममा मतदान हुँदैछ । 

निर्वाचन आयोगका अनुसार मंगलबार काभ्रेको पाँचखाल नगरपालिका–१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिका–८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिका–५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुँदैछ । 

मंगलबार तनहुँको व्यास नगरपालिका–८ को भवन फेदी मतदान केन्द्रमा पनि पुनः मतदान हुँदैछ । 

पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.