वीरगन्ज, १४ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका सोमबार क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि पर्साको वीरगन्जमा कर्फ्यु लगाइएको छ । स्थानीय प्रशासनले सोमबार दिउँसो ४ बजेदेखि वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । सम्भावित झडपलाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
तर, वीरगन्जको घन्टाघर, छप्कैंया, विर्ता र नगवामा प्रदर्शनकारीहरुले कर्फ्यु उल्लंघन गरेका छन् । उनीहरुले सडकमा टायर बालेर प्रदर्शन जारी राखेका छन् । प्रदर्शनकारीले रानीघाट प्रहरीचौकीको सामान सडकमा ल्याएर जलाइदिएका छन् ।
यसअघि, सोमबार दिउँसो वीरगन्जमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ९ जना घाइते भएका थिए । वीरगन्जको नगवाचोक क्षेत्रमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाई फायरसमेत गरेको थियो ।
रबरको गोली लागेर स्थानीय कृष्णकुमार पटेल गम्भीर घाइते भएका छन् । घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । बाइपास सडकको नगवा चोकमा मोर्चाका कार्यकर्ताले सडक अवरुद्ध पारेर प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।