असन्तुष्टलाई संशोधन प्रक्रियामा आउन सुझाव

0

काठमाडौं, ११ भदौ । संविधानको परिमार्जित विधेयकमाथिको छलफल शुक्रबार पनि जारी छ । छलफलमा भाग लिँदै अधिकांश सभासदहरुले संविधानको विधेयक परिमार्जन गर्न सकिने भन्दै असन्तुष्ट दलहरुलाई प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् । उनीहरुले मुलुकलाई हिंसातर्फ लैजान नहुने भन्दै सामाजिक सद्भाव कायम गर्नेखालको संविधान बनाउन सुझाव दिएका छन् ।
छलफलमा भाग लिदैं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान परिवर्तनीय दस्तावेज भएकाले मस्यौदामा उल्लेख गरिएका कतिपय विषय परिवर्तन गरेर जान सकिने बताए । उनले विधेयकमा असन्तुष्टि भए संशोधन प्रक्रियामा सहभागी हुन आह्वानसमेत गरे ।
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले संविधानको विधेयकमाथि असन्तुष्टि भए छलफलबाटै समाधान गर्न सकिने बताए । उनले विधेयकमा राखिएका कतिपय प्रावधानलाई संशोधन गर्न सकिने भन्दै असन्तुष्ट दलहरुलाई वार्तामा सहभागी हुन आह्वान गरे । एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्माले विधेयकमा राखिएका कतिपय प्रावधानप्रति आफूहरुकोसमेत असन्तुष्टि हुँदाहुँदै संविधान निर्माण प्रक्रियालाई सहयोग गरिरहेको भन्दै असन्तुष्ट पक्षलाई वार्तामा आएर आफ्ना माग राख्न आग्रह गरे । उनले मुलुकलाई हिंसामा नलैजान सुझाव दिदैं वार्ता र छलफलबाटै समस्याको समाधान गर्न सकिने बताए ।
छलफलमा भाग लिने अधिकांश सभासदहरुले केही जिल्लामा देखिएको असन्तुष्टिलाई मिलाएर संविधान जारी गर्नुपर्ने बताएका छन् । उनीहरुले प्रमुख दलका शीर्ष नेता तथा असन्तुष्ट पक्षलाई वार्तामा बसेर समस्या समाधान गर्न सुझाव दिएका छन् । संविधान निर्माण प्रक्रिया भने रोक्न नहुने र छिटै मुलुकलाई निकास दिनुपर्ने उनीहरुको भनाइ छ । परिमार्जित विधेयकमाथिको छलफल शुक्रबार पनि दिनभर चल्ने छ । छलफलमा भाग लिन ४ सय ५२ जनाले आफ्नो नाम टिपाएका छन् ।

Leave A Reply

Your email address will not be published.