भैरहवा बजार आजदेखि खुल्यो

0

बुटवल, ४ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिको आयोजनामा नौ दिनदेखि हुँदै आएको तराई बन्दका क्रममा लगातार बन्द रहेको रुपन्देहीको जिल्ला सदरमुकाम भैरहवा बजार आज बिहानैदेखि खुलेको छ । लगातार नौ दिनसम्म शान्तिपूर्ण आन्दोलन हुँदै आएको भैरहवामा बिहीबार एकाएक आन्दोलनकारी तोडफोड र आगजनीमा उत्रिएपछि स्थानीय जनताले प्रतिकार गरेका थिए । जनताको प्रतिकारपछि सम्भावित झडप हुने सम्भावनालाई रोक्न प्रहरीले बल प्रयोग गरी दुवै पक्षलाई भगाएका थिए । प्रशासनले बेलुका ८ बजेदेखि आज बिहान ५ बजेसम्म निशेषाज्ञा जारी गरेको थियो ।
बजार खुलेपछि भैरहवाको जनजीवन सामान्य देखिएको छ । बिहानैदेखि छोटो दूरीको सवारी साधन सञ्चालनमा आएका छन् भने स्थानीय बजार, शिक्षण संस्था सञ्चालनमा आएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले लामो बन्दका कारण व्यवसायी मारमा परेको र अब आन्दोलनकारीलाई आफ्ना कार्यक्रम शान्तिपूर्ण रुपले गर्न आह्वान गर्नुभएको छ ।
यस्तै जिल्लाको सम्पूर्ण शान्ति सुरक्षाको अवस्थालाई कायम राख्न जनतालाई सहज वातावरणको अनुभूतिको वातावरण कसरी बनाउन सकिन्छ भनेर अहिले जिल्ला प्रशासन कार्यालयको पहलमा भैरहवामा सर्वपक्षीय बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो ।
सङ्घीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रशासनले गलत मानिसलाई घुसपैठ गराएर द्वन्द्व सिर्जना गर्ने काम गरेको आरोप लगाउनुभयो ।

Leave A Reply

Your email address will not be published.