सुर्खेतमा सरकारी कार्यालय कब्जा गर्ने तयारी

0

सुर्खेत, ३ भदौ । अखण्ड मध्यपश्चिम र प्रान्तीय राज्यको राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै आएका सुर्खेतका आन्दोलनकारीहरुले शान्त भएको प्रदर्शन फेरी चर्काउन थालेका छन् । उनीहरुले स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन सुरु गरेका हुन् । आन्दोलनकारीहरुले निषेधाज्ञा अवज्ञाको आन्दोलन सुरु गरेसंगै फेरि प्रदर्शन उग्र हुने देखिएको छ ।
वुधबार मात्रै उनीहरुले सरकारी कार्यालय क्षेत्रमा लाग्दै आएको निषेधाज्ञा तोडेर प्रदर्शन गरेका छन् । अव देखिको आन्दोलन निषेधाज्ञा तोडेर सरकारी कार्यालय कब्जा गर्नमा केन्द्रीत रहने नागरिक संघर्ष समितिले जनाएको छ । समितिले सम्पूर्ण राजनीतिक दलहरुलाई पार्टीगत झण्डा त्यागेर आन्दोलनमा सहभागी हुन समेत आग्रह गरेको छ ।
नागरिक संघर्ष समितिले वीरेन्द्रनगर बजारको मूख्य प्रवेशद्वार मंगलगढीचोक र वीरेन्द्रचोकमा अखण्ड मध्यपश्चिम प्रदेश लेखिएको साइन बोर्डसमेत राखेको छ । आन्दोलनकारीले अखण्ड मध्यपश्चिम माग्दै भएको आन्दोलनका क्रममा मृत्यु भएका टिकाराम गौतम, यामबहादुर विसी र गोपालसिंह रजवारको नाममा विभिन्न चौकको नामाकरण समेत गरेका छन् । सुर्खेतमा भएको आन्दोलन बिहीबार ११ औं दिनमा प्रवेश गरेको छ । एघार दिनदेखिको बन्दका कारण यस भेगका सर्वसाधारणको दैनिकी नराम्ररी प्रभावित बनेको छ । सुर्खेतका शैक्षिक संस्था, कलकारखाना, बजार र यातायात समेत पूर्णरुपमा ठप्प छन् । बैंक तथा सरकारी कार्यालयसमेत नखुल्दा अत्यावश्यक काम समेत ठप्प बनेका छन् । यसैगरी सिंगो रुकुमलाई प्रदेश पाँचमा राख्नुपर्ने माग गर्दै आमहड्तालमा उत्रिएका रुकुमेलीहरुको आन्दोलन पनि बिहीबार एघारौं दिन प्रवेश गरेको छ ।  

Leave A Reply

Your email address will not be published.