प्रहरी दमनविरुद्ध सभासदहरु

0

काठमाडौं, १ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै अधिकांश सभासद्ले सप्तरी जिल्लाको भारदहमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि प्रहरीले गोली प्रहार गरेकामा सरकारको आलोचना गर्नुभयो । सांसद मोहनकुमार राईले वर्षाका कारण बाग्मती नदी बढेर काठमाडौँका धेरै स्थानमा क्षति पु-याएको, धोबीखोला क्षेत्रमा रहेका सुकुम्बासी टोलका जनता बाढीका कारण आतङ्कित भएको र घरभित्र हिलो र फोहर जम्न गई प्रदूषण बढेकाले सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद बलबहादुर महतले आफ्नो अधिकारका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका कर्णाली तथा जुम्लाका जनतालाई प्रहरीले घाइते बनाएकाले तिनको उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद आशा कोइरालाले विद्युत् प्राधिकरणको लापरबाहीले तनहुँमा अधिक विद्युत् प्रवाह भएर न्यौपाने परिवारका पाँचजनाको मृत्यु र अन्य केही घाइते भएको जानकारी दिँदै घाइतेको उपचारको व्यवस्था मिलाउन र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभयो ।
सांसद गङ्गाप्रसाद यादवले सप्तरीको भारदहमा प्रहरीको गोलीले एकजनाको मृत्यु भएको र अन्य केही घाइते भएकाले घाइतेको उपचार र मृतकको परिवारलाई क्षति पूर्ति दिन माग गर्नुभयो । उहाँले सहमतिको आधारमा संविधान बनाउन पनि माग गर्नुभयो । सांसद लक्ष्मण लाल कर्णले देशका चार नेताले पूरै देशमा आगो लगाएको र यस्ता अदूरदर्शी नेताको ठेकेदारीले यस्तो घटना भएको आरोप लगाउँदै प्रश्न गर्नुभयो– सप्तरीवासीले के अपराध गरेका थिए र गोली हान्न ?
थारु समुदायलाई सभा गर्ने अधिकार पनि काँग्रेस र एमालेका कार्यकर्ताबाट रोक्न लगाएर तानाशाही व्यवस्था लादेको आरोप लगाउँदै उहाँले यी घटनाको गृहमन्त्रीबाट जवाफ नआए आगामी बैठक चल्न नदिने चेतावनी दिनुभयो । सांसद गोपाल दहितले हिजो धनगढीमा शान्तिपूर्ण आन्दोलन गर्ने सहमति भए पनि थारु समुदायको प्रदर्शनमा दमन गरिएको, कैलालीमा कर्मचारीको मिलेमतोमा अखण्ड सुदूरपश्चिमको पक्षमा कार्यक्रम गर्न लगाएको, सुदूरपश्चिमविरुद्ध जाति विशेषलाई भड्काइएको र केही मधेसी सभासद्ले दिएको अभिव्यक्तिविरुद्ध गृहमन्त्रीले पनि सदनमा भड्काउने काम गरेको भन्दै आपत्ति जनाउनुभयो ।

Leave A Reply

Your email address will not be published.