संघीयता कांग्रेस-एमालेको एजेण्डा होइन : डा. कोइराला

0

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीयता जनताको चाहना नभएको बताएका छन् । ईमेज एफएमसँग कुरा गर्दै उनले संघीयता राजनीतिक विषय भएको बताए । उनले भने, ‘वास्तवमा संघीयता जनताले चाहेकै होइनन् ।’ संघीयता कांग्रेस र एमालेको एजेण्डा नभएकोसमेत उनले बताए । कुनै पनि आन्दोलनमा कांग्रेस, एमालेले संघीयतालाई प्राथमिकताका साथ नउठाएको जिकिर गर्दै उनले भने, ‘मधेसवादी र माओवादीका कारण संघीयता भित्रिएको हो ।’ संघीयताबाट अब पछाडी फर्कन नसकिने प्रष्ट पार्दै उनले सोचबिचार नगरी अगाडी बढ्ने हो भने यसले राम्रो नगर्ने दाबी गरे ।
उनले ९४ प्रतिशत हिन्दु भएको देशलाई केही नेताले धर्मनिरपेक्ष बनाएको आरोप लगाए । उनले भने, ‘हिन्दु बाहुल्य मुलुकलाई धर्मनिरपेक्ष बनाउनेहरु युरोपियन युनियनबाट संचालित छन् ।’उनले प्रश्न गरे, ‘युयोपियनहरुले नेपाललाई धर्मको पाठ सिकाउने अधिकार कहाँबाट पाएँ ? युरोपका अधिकांश देश क्रिश्चियन हुन हुने, नेपाल हिन्दु राष्ट्र हुन नहुने ?’
विश्व बहुलवादमा चलेको उल्लेख गर्दै उनले कांग्रेस र एमालेले बहुलवाद छाडेर महाभूल गरेको बताए । उनले संघीयताका नाममा यसअघि १६ बुँदे सहमतिमार्फत ८ प्रदेशमा जाने निधो गरेका दलहरु एकाएक किन ६ प्रदेशमा झरे भन्ने विषय रहस्यमय रहेको समेत बताए । डा. कोइरालाले संविधानको प्रारम्भिक मस्यौदामा त्रुटीहरु रहेको जिकिर गरे । उनले भने, ‘मस्यौदा पढ्न नै अल्छि लाग्छ । मस्यौदा हावादारी रुपमा तयार पारिएको छ ।’
प्रमुख दलका शीर्ष नेताहरुले आफूलाई नयाँ राजा ठान्ने गरेको आरोपसमेत उनले लगाए । उनले भने, ‘शीर्ष नेताका नाममा आफूलाई राजा ठान्ने यी को हुन् ?’ लोकतन्त्रमा जनता नै सर्वशक्तिमान रहेको उल्लेख गर्दै उनले जनताको चाहनाअनुसारको संविधान बन्नुपर्ने बताए । कांग्रेसको आसन्न महाधिवेशनमा आफू कुन रुपमा प्रस्तुत हुने भन्नेबारे निधो गर्न बाँकी नै रहेको उनले बताए । ‘म कसरी प्रस्तुत हुने भन्ने कुरा निधो गरिसकेको छैन तर पार्टीलाई बचाउनुपर्ने अवस्था आएकै छ, यसमा म गम्भीर छु ।’

Leave A Reply

Your email address will not be published.