सुझाव लिन गएका सभासद्‍माथि कुर्सी प्रहार

0

रौतहटको गौरमा संविधानको मस्यौदामाथि सुझाव संकलनस्थलमै मधेसवादी दलका कार्यकर्ता र सत्तारुढ दलका कार्यकर्ताबीच सोमबार बिहान झडप भएको छ । बिहानै गौर नगरपालिकाको सभा हलमा कार्यक्रम सुरु हुनुअघि नै दुईपक्षबीच झडप भएको हो । झडपका क्रममा मधेसवादी दलका कार्यकर्ताले एमाले बरिष्ठ नेता तथा सभासद् माधवकुमार नेपालसहितका सभासद्हरुमाथि कुर्सी हानेका थिए। दुई घन्टादेखि हलमा थुनिएका सभासद्हरुलाई प्रहरीले कडा सुरक्षाकाबीच निकालेको छ। गौरमा अझै पनि तनाव छ।
कार्यक्रम हलमै झडप भए पनि सभासद्हरुले समय छोट्याएर सुझाव संकलन कार्यक्रम सम्पन्न गरिसकेका छन्। गौर नगरपालिकाको कार्यालय अगाडिको सडकमा मधेसवादी दलका नेता कार्यकर्ताले ढुंगामुढासहित प्रदर्शन गरेपछि त्यो क्षेत्र तनावग्रस्त भएको छ।
विरोधमा उत्रेका मधेसवादी दलका नेता कार्यकर्ताले बाहिरबाट ढुंगामुडा गरिरहेपछि एमाले नेता नेपालसहितका सभासद् र सरकारी कर्मचारी नगरपालिका हलमै दुई घन्टादेखि थुनिएका छन् ।
तनावग्रस्त बनेको नगरपालिका क्षेत्रको स्थिति नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म दर्जनौ राउन्ड अश्रुग्यास हानिसकेको छ। करिब ५ सयको संख्यामा रहेका प्रदर्शनकारीलाई तितरबितर पार्न करिब सय जनाको संख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीसँगको झडपका क्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बबन सिंहसहित घाइते भएका छन् ।

Leave A Reply

Your email address will not be published.