कांग्रेस एकलौटी ढंगले अगाडि बढ्न खोज्यो : नेपाल

0

काठमाडौं, ३० आषाढ । एमाले नेता माधवकुमार नेपालले सत्ता साझेदार दल नेपाली कांग्रेस एकलौटी ढंगले अगाडि बढ्न खोजेको आरोप लगाएका छन् । हरिहर पोखरेलले लेखेको ‘महाभूकम्प–२०७२’ पुस्तकको बुधबार राजधानीमा लोकार्पण गर्दै एमाले नेता नेपालले पछिल्लो समयमा प्रधानमन्त्री सुशील कोइरालाले एकलौटी निर्णय गर्न थालेर संयुक्त सरकारको संस्कार बिर्सिएको बताए । उनले सत्ता साझेदार दल एमालेसँग पर्याप्त छलफल नगरी कांग्रेसले एकलौटी ढंगले बजेट ल्याएकोसमेत आरोप लगाए । नेता नेपालले ‘महाभूकम्प–२०७२’ नामक पुस्तक नेपालीका लागि मात्र नभइ अन्तर्राष्ट्रियस्तरमा समेत पठनीय भएको बताए ।
कार्यक्रममा पुस्तकका लेखक हरिहर पोखरेलले गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पन जाँदै गर्दा आफूले पुस्तक तयार पारेको बताए । पुस्तकमा विश्वमा गएका शक्तिशाली भूकम्प र त्यसका असरसँगै नेपालमा गएका भूकम्पको तुलना गरिएको छ । त्यसैगरी, भूकम्पले पुर्‍याएको क्षतिको विवरण पनि पुस्तकमा समेटिएको छ ।

Leave A Reply

Your email address will not be published.