प्रदेश ५ मा आजदेखि हिउँदे अधिवेशन, नाम स्थायी राजधानी टुंग्याउने अपेक्षा

0

काठमाण्डौं – प्रदेश ५ को प्रदेशसभाको हिउँदे अधिवेशन आज (आइतबार) अपरान्ह १ बजे देखि सुरु हुँदै छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले आज १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन ।

गत जेठ २ गतेदेखि सुरु भएको बर्खे (बजेट) अधिवेशन गत असौज २ गते सकिए पनि सरकारले बिजनेस दिन नसक्दा चार महिनासम्म संसद बैठक चलेको थिएन ।

हिउँदे अधिवेशनमा बिजनेसको अभाव हुन नदिने प्रदेश सरकारले दावी गरेको छ । प्रदेश सरकारले ६ वटा विधेयक संसद पठाउने गरी तयारी गरेको छ । हिउँदे अधिवेशनमा सुशासन, वातावरण, स्थानीय तह, लोक सेवा र चलचित्र सम्बन्धि विधेयक पेश हुने छन् ।

यो सँगै हिउँदे अधिवेशनमा प्रदेशको नाम र स्थायी राजधानीको नाम यहि अधिवेशनले टुंग्याउने अपेक्षा गरिएको छ । राजधानी र नामाकरण सिफारिस गर्न बनेको समितिले पनि आफ्नो प्रतिवेदन बुझाईसकेको छ । प्रदेशको नाम लुम्बिनी रहने कुरामा करिब सहमति भएपनी राजधानीका सन्दर्भमा भने सबैका आ-आफ्नै धारणा भएपनि दलहरूबिच औपचारिक संवाद अहिलेसम्म हुन सकेको छैन ।

मुख्यमन्त्री पोखरेल अहिलेको अस्थायी राजधानी बुटवलको पक्षमा नरहेपनी सत्तारूढ नेकपाको हाइकमाण्ड भने बुटवलकै पक्षमा रहेको बताईन्छ । प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सभाको दुईतिहाइले अनुमोदन गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

प्रदेश ५ मा नेकपाका ६१, नेपाली कांग्रेसका १९, समाजवादीका ५ राजपा र राष्ट्रिय जनमोर्चाका एक एक गरि ८७ जना सांसद रहेका छन ।

Leave A Reply

Your email address will not be published.