एमाओवादी नेताहरुबीच जुहारी

0

काठमाडौँ, २७ असार । एमाओवादी वरिष्ठ नेताहरुबीच जुहारी नेकपा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराईबीच सार्वजनिक स्थलमै जुहारी चलेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले आज आयोजना गरेको ‘राजनीतिक प्रशिक्षण तथा राष्ट्रिय श्रम अभियानकर्मी सम्मान’ कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा बाबुराम भट्टराईले एकापसमा घोचपेच गर्नुभएको हो ।
अध्यक्ष दाहालले पार्टी बुर्जुवाकरणतर्फ अग्रसर भइरहेको भन्दै यसले निरन्तरता पाए पार्टी नै विघटन हुनसक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र गुटैगुट बन्ने क्रम चलेको छ, नेतापिच्छे गुट छन्, एउटै जिल्लामा आठ वटासम्म समानान्तर कमिटी छन्, यो कम्युनिष्ट चरित्र होइन, बुर्जुवा चरित्र हो ।” उहाँले नेता भट्टराईतर्फ सङ्केत गर्दै अब समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने, नयाँ पार्टी बनाउनुपर्छ भन्ने तर व्यवहारमा समानान्तर कमिटी गठन गर्ने भन्दै व्यङ्ग गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “हामीबीच कार्यदिशा र कार्यनीतिमा एकमत छ, सोह्रबुँदे पनि ठीक हो भन्ने, विचार सबै एउटै छ, अनि व्यवहारमा मात्रै किन फरक÷फरक गुट बनाउँदै हिँड्ने ?” उहाँले गल्तीको जिम्मा पनि सबै नेताले हैसियतअनुसार लिनुपर्ने बताउँदै दोस्रो, तेस्रो वरियताको नेताले आफ्नो हैसियतअनुसारको जिम्मा लिनुपर्ने भनाइ राख्नुभयो ।
आफ्नो नेतृत्वमा नै जनयुद्ध सञ्चालन गरी पार्टीलाई यहाँसम्म पु¥याएको स्मरण गर्दै अध्यक्ष दाहालले एउटा कथामा आमा बुढो भएपछि मिल्काउन खोजेजस्तै आफूलाई पनि मिल्काउन खोजेको हो भनी प्रश्न गर्नुभयो । कार्यक्रममा एमाओवादीका वरिष्ठ नेता भट्टराईले पार्टी यही स्थितिमा रहे पार्टीको विघटन निश्चित भएको बताउँदै नयाँ परिस्थितिअनुरुपको पार्टी निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रचण्ड र बाबुराम मिलेर अँगालो हालेर मात्रै अब पार्टी बच्न सक्दैन, यथास्थितिमा हाम्रो विनाश रोक्न सकिँदैन ।” उहाँले पार्टी रुपान्तरण हुने गरी रणनीति र कार्यनीति ल्याउन आवश्यक रहेको बताउँदै त्यसबाट मात्रै समाजवादतर्फको दिशामा अगाडि बढ्न सकिने धारणा राख्नुभयो ।
भट्टराईले अध्यक्ष दाहालतर्फ सङ्केत गर्दै भन्नुभयो, “महादेवले सतिदेवीको मरेको लाश बोकर हिँडेजस्तै हिँडेर अब पार्टी अगाडि बढ्न सक्दैन ।” संविधान निर्माणसँगै पुँजीवादी क्रान्तिको कार्यभारलाई संस्थागत गरी मुलुक समाजवादको दिशातर्फ अगाडि बढेको उहाँको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.