देश र जनताको हितमा संविधान संशोधन : महासचिव पोखरेल

0

भक्तपुर । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमाले देश र जनताको हितमा हुनेगरी संविधान संशोधन गर्न तयार रहेको बताउनुभएको छ । युवा सङ्घ नेपाल जिल्ला कमिटी भक्तपुरले आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले संविधान गतिशील र परिवर्तनशील दस्तावेज भएकाले औचित्य, अभ्यास, अनुभव र आवश्यकताका आधारमा मात्र संशोधन हुनसक्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “कसैलाई सत्तामा पु-याउने भ-याङ बनाउन र कोही कसैको स्वार्थ पुरा गर्नका खातिर संविधान संशोधन हुन सक्दैन ।” उहाँले एमालेलाई मधेसमा एक वा दुई प्रदेश मान्य नभएको बताउँदै सिमाङ्कनको फैसला केही ठालु व्यक्तिले होइन, जनता र जनताका प्रतिनिधिले टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

नेता पोखरेलले अङ्गिकृत नागरिक देशको उच्च पदमा बस्न नपाउने अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालले पनि अङ्गिकार गरेको बताउँदै केही अङ्गिकृत नागरिकता लिएका मधेसी नेताहरूले चाहँदैमा अङ्गिकृत नागरिकलाई मुलुकको उच्च पदमा आसिन गराउने प्रयास सफल नहुने बताउनुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य राजन भट्टराई, युवा नेता महेश बस्नेत, सांसद केदार सञ्जेल, एमाले जिल्ला उपाध्यक्ष वचन देउजा, युवा सङ्घका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, महासचिव किरण पौडेल, उपत्यका अध्यक्ष दीपक थापालगायतले युवा उत्पादनशील, शीपमूलक, रोजगारी र सिर्जनशील बन्नुपर्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.