काँग्रेसले मन्त्रीको नाम बुधबार टुङ्गो लगाउने

0

काठमाडौं । सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारमा सहभागी हुने बाँकी मन्त्रीहरुको नाम भोलि बुधबार टुङ्गो लगाउने भएको छ । भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशनका कारण मन्त्रीहरुको नाम पठाउन ढिलाइ गरेको काँग्रेसले भोलि बाँकी मन्त्रीको नाम टुङ्गो लगाउने नेता नवीन्द्रराज जोशीले जानकारी दिनुभयो ।

काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पठाउनेमध्ये सीतादेवी यादव, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा प्रकासशरण महत, बालकृष्ण खाँण, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, शङ्कर भण्डारी, गगन थापा, फरमुल्लाह मन्सुर, दीपक गिरी, नवीन्द्रराज जोशीलगायतको नाम बढी चर्चामा छ ।

काँग्रेसले यसअघि उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा रमेश लेखकलाई पठाइसकेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार उपचारका लागि सिङ्गापुर जाने कार्यक्रम भएकाले त्यसअघि नै काँग्रेसबाट सहभागी हुने सबै मन्त्रीलाई शपथ गराउने तय भएको छ । मन्त्रीको टुङ्गो लागेपछि पार्टीमा रिक्त पदाधिकारी र विभागलाई पूर्णता दिने बताइएको छ ।

व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसले वर्तमान सरकार निर्माणका बेला नेकपा (माओवादी केन्द्र) सँग १३ मन्त्रालय पाउने सहमति भएको थियो । माओवादी केन्द्रले भने आफूले पाउने सबै ८ मन्त्रालयमा मन्त्री पठाइसकेको छ ।

Leave A Reply

Your email address will not be published.