जलवायु परिवर्तनको असरलाई कम गर्न आवाज उठायौँ: सभामुख घिमिरे

काठमाडौं, सभामुख देवराज घिमिरेले अन्तर व्यवस्थापिका सङ्घको सभामा नेपालको तर्फबाट विश्वमा देखा परेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताउनुभएको छ ।

अन्तर व्यवस्थापिका सङ्घको १४८ औँ सभामा सहभागी भई स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सभामा नेपालको तर्फबाट प्रभावकारी ढङ्गबाट सहभागिता जनाएको बताउनुभयो । उहाँले १४८ औँ अन्तर व्यवस्थापिका सङ्घको सभामा संसदहरुको डिप्लोमेसी, अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरू गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्त्व छ ? भन्ने विषयमा आधारित भएर छलफल भएको बताउनु भयो । उहाँले सभामा १४२ भन्दा बढी देशका सांसदहरूको प्रतिनिधित्व रहेको बताउनु भयो ।
उहाँले नेपालले सभामा जलवायु परिवर्तनलगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कूटनीतिक ढङ्गबाट सांसदले खेल्ने भूमिका खेल्नुपर्ने बारेमा कुरा उठाएको बताउनु भयो ।

Comments are closed.