सलाह घाइते भएको खेलमा शीर्ष टोली लिभरपुलको जित

एजेन्सी – आफ्ना शिर्ष स्ट्राईकर मोहम्मद सलाह घाइते भएको इङलिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले उच्च प्रदर्शनलाई निरन्तरता दिएको छ । पूर्व विजेता लेस्टर सिटीलाई लिभरपुलले शनिबार २–१ ले हराएको छ । इन्जुरी समयमा जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई जित दिलाएका थिए । जितपछि लिभरपुल शीर्षस्थान थप मजबुद भएको छ । लेस्टर पनि तेस्रो स्थानमा यथावत छ ।

साडियो मानेले ४० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मानेका लागि पनि त्यो गोल कोसेढुंगा रह्यो । प्रिमियर लिगमा त्यो उनको ५० औं गोल हो । जेम्स मिल्नको पासमा उनले गोल गरेका थिए ।

जेम्स माडिसनले खेल सकिन १० मिनेट अघि बराबरी गोल फर्काएका थिए । तर, इन्जुरी समयको ५ मिनेटमा मिल्नरले गोल गर्दै लिभरपुलाई जित दिलाए । लेस्टरका मार्क अल्ब्रिग्टनलेले मानेलाई पेनाल्टी बक्समा फाउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

लिभरपुल प्रिमियर लिगमा ४४ खेलदेखि अपराजित छ । युरोपका शीर्ष ५ लिगमा यो सबै भन्दा लामो अपराजित यात्रा हो । लिभरपुलको २४ अंक पुगेको छ । दोस्रो स्थानको म्यानचेस्रट सिटीको १६ अंक छ भने लेस्टरको १४ अंक पुगेको छ ।