सन्दीपले विकेट लिएकाे खेलमा हाेवर्ट ३९ रनले पराजित

अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेट प्रतियोगितामा नेपाली खेलाडी सन्दीप लामिछाने आवद्र्ध होबर्ट हुरिकेन्स ३९ रनले पराजित भएको छ ।

सिड्नी थन्डर्सले दिएको १६८ रनको लक्ष्य पछ्याएको होवर्टले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १२८ रन मात्रै जोड्न सक्यो । होवर्टका लागि कप्तान पिटर ह्यान्डसकोमले सर्वाधिक ३० रन बनाउँदा बेन म्याक डेरमोटले २२ रनको योगदान गरे ।

यसैगरी डेभिड मलानले २० रन बनाउँदा डी आरसी जोन म्याथ्यू सटले १९ रन बनाए । कोलिन इंग्रामले १२ रन जोड्दा अरु कुनै पनि ब्याट्सम्यानले दोहारो अंकमा रन बनाउन सकेनन् ।
सिड्नी थन्डर्सका लागि नाथन म्याक एन्ड्रयू, क्रिस ग्रिन र तनवीर संघाले समान दुई दुई विकेट लिए ।
पहिला ब्याटिङ गरेको सिड्नीले ५ विकेट गुमाएर १६७ रन बनाएको थियो । सिड्नीका लागि उस्मान ख्वाजाले ४९ रन बनाएर आउट भएका थिए । एलेक्स हल्सले २१ रन बनाए ।

ख्वाजा र हल्सले पहिलो विकेटका लागि ५९ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए ।
कप्तान कलुम फर्गुसन एक रन बनाएर आउट हुन पुगे । उनको विकेट नेपाली खेलाडी सन्दीप लामिछानेले लिएका हुन् ।

यसैगरी साम विलिंग्स पनि एक रनमै आउट हुन पुगेका थिए । सिड्नीका लागि एलेक्स रोज ४४ तथा बेन कटिङ ३१ रनमा नटआउट रहँदै निर्धारित ओरभमा टिमको स्कोर १६७ रन     पुर्‍याउन सफल भए ।

जोन म्याथ्यु सटले सर्वाधिक तीन विकट लिँदा सन्दीपले एक विकेट लिए । नेपालका सन्दीपले ४ ओभर बलिङ गर्दा उनले २३ रन खर्चिएर एक विकेट हात पारेका हुन् ।