रियललाई स्तब्ध बनाउँदै बिल्बाओ सुपर कपकाे फाइनलमा

साविक विजेता रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । विहीबार राति भएको खेलमा एथ्लेटिको विल्बाओसँग २–१ गोल अन्तरले पराजित भएपछि उपाधि रक्षाको अभियानमा अघि बढ्न सकेन ।

सेमिफाइनलमा विजयी भएको विल्बाओले अब उपाधिका लागि बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने छ ।  विल्बाओका लागि स्ट्राइकर राहुल गार्सिया ले २ गोल गरेका थिए । रियलका करिम बेन्जिमाले खेलको अन्त्यतिर १ गोल फर्काएका थिए । १८ औं मिनेटमा गार्सियाले गोल गर्दै अग्रता दिलाएका थिए ।

३८ औं मिनेटमा उनै गार्सियाले पेनाल्टी मार्फत व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे । पहिलो हाफमा २ गोलको अग्रता बनाएको विल्बाओले दोस्रो हाफमा एक गोल खाए पनि फाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो ।

७३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै अन्तर घटाए पनि हार भने टार्न असफल रहे । सुरुमा रेफ्रीले अफसाइडको इशारा गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीबाट त्यस गोलले मान्यता पाएको हो । बार्सिलोनाले बुधबार राती रियल सोसिडाडलाई पेनाल्टी शुटआउटमा पराजित गरी फाइनलमा स्थान बनाएको हो । फाइनल खेल आइतबार सेभिल्लामा हुनेछ ।