म्यानचेस्टर युनाइटेड र सिटी शीर्ष र दाेस्राे स्थानमा

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।

लेस्टर शीर्ष स्थानमा उक्लिएको २४ घण्टा पनि नवित्दै फेरि तेस्रो स्थानमा झरेको हो । बुधबार राति भएको खेलमा फुलह्याममाथि २–१ गोल अन्तरको जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लन सफल भयो । युनाइटेडविरुद्ध घरेलुु मैदानमा फुलह्यामले अग्रता लिए पनि जोगाउन असफल रह्यो । पाँचौं मिनेटमा अडेमोला लुकम्यानले गोल गर्दै फुलह्यामलाई अग्रता दिलाएका थिए ।

तर, २१ औं मिनेटमा इडिन्सन काभानीले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले पहिलो हाफमै बराबरी गर्न सफल भयो । ६५ औं मिनेटमा पौल पोग्बाले गोल गरेपछि युनाइटेडले २–१ गोल अन्तरको जित दर्ता गर्न सफल भयो । १९ खेलबाट ४० अंकसहित युनाइटेड शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको म्यानचेस्टर सिटी ३८ अंकका साथ दोस्रो स्थानमा छ भने सामान ३८ अंक भएको लेस्टर तेस्रो स्थानमा छ ।

म्यानचेस्टर सिटी दोस्रो स्थानमा 
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा एस्टोन भिल्लालाई २–० गोल अन्तरले पराजित गर्दै सिटी दोस्रो स्थानमा उक्लिएको हो ।
घरेलु मैदान इथिहाड रंगशालामा सिटीले अग्रता बनाउन दोस्रो हाफ कुर्नुपरेको थियो ।  ७९ मिनेटमा बर्नान्डो शिल्भाले सिटीका लागि सुरुआती गोल गरेका थिए । नियमित समयको अन्तिम मिनेटमा गुण्डोगानले गोल गरेपछि सिटीले खेलको सहजरुपमा आफ्नो पक्षमा पार्न सफल भयो ।

सिटीले लिगमा १८ खेल खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको लिसेस्टर सिटीको समान अंक भए पनि गोलअन्तरमा पछि पर्दै तेस्रो स्थानमा छ ।