मलेसियासँग नेपालको लज्जास्पद हार, २२ रनले पराजित

काठमाण्डौं – एसिसि इस्टर्न रिजन टीट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ। थाइल्यान्डमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल तुलानात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी मलेसियासँग २२ रनले पराजित भयो। नेपालले १४ रनको अन्तरमा अन्तिम ६ विकेट गुमाएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपाल खेल सकिन एक बल अगावै सबै विकेट गुमाउँदै केबल १ सय ३२ रनमा समेटिएपछि २२ रनले पराजित भएको हो ।

नेपालका लागि ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले समान ३८ रन बनाए । खेलमा पवन सर्राफले १९ रन जोड्नुबाहेक अरु नेपाली ब्याट्समेनले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।

यसअघि थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गर्दै मलेशियाले १५४ रन जोडेको थियो । मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अनवर अरुदीनले ३१ तथा मोहमद नुरले ३० रन बनाए । अमिनुदुन राम्लेले २९ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यससँगै सन्दीपले टी–ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । उनले टी–ट्वान्टीमा १ सय २ विकेट पुरा गरेका छन् । यस्तै अविनाश बोहराले २ विकेट लिए ।