प्रधानमन्त्री कपमा आर्मीको विजयी शुरुवात

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गरेको हो ।

आर्मीको जितमा कप्तान विनोद भण्डारीको शतकीय पारि सामेल थियो । आर्मीले निर्धारित ६० ओभरमा ६ विकेट गुमाउँदै २८७ रनको निकै बलियो योगफल तयार पारेको थियो । राम्रो सुरुवात गरेको आर्मीको मिडिल अर्डर भने केही बेर धरमराएको थियो । ६३ रनमा पहिलो विकेट गुमाएको आर्मीले ११ रन बनाउँदा चार विकेट खेर फालेको थियो ।

त्यसपछि कप्तान भण्डारी र राजेश पुलामीले आर्मीको स्कोर अघि बढाएका थिए । भण्डारीले १११ रनको नटआउट शतकीय पारि खेल्दा ७६ बल फेस गरेका थिए भने ९ चौका र पाँच छक्का प्रहार गरे । उनलाई पुलामीले गतिलो साथ दिएका थिए । पुलामीले ५२ बलमा ३८ रन बनाउँदा चार छक्का प्रहार गरे । यसैगरी उसका लागि हरीशंकर झाले १४ रन बनाए भने राजु रिजालले ४५ रनको योगदान गरे । यस्तै रोहित पौडेलले १० रन बनाउँदा भीम शार्कीले १५ रनको योगदान गरे । यसैगरी लोकेश बलमे आक्रामक ४२ रन बनाएका थिए ।

गण्डकीका विपिन खत्री र विशाल पौडेलले दुई दुई विकेट लिँदा दीपेश खत्री र चन्द्र पौडेलको नाममा एक एक विकेट रह्यो ।  २८८ रनको लक्ष्य पछ्याएको गण्डकी भने ४८ ओभरमा १८९ रनमै रोकिन पुग्यो । गण्डकीको शुरुवात भने राम्रो रहेन ।

सात रनमै पहिलो विकेट गुमाएको गण्डकीका खेलाडीहरुले राम्रो तालमेल गर्न सकेनन् । गण्डकीका लागि समिर कँडेलले अर्धशतकीय ५० रनको पारि खेले । कप्तान विपनि खत्रीले नटआउट ३७ रन बनाउँदा १५ वर्षिय खेलाडी अर्जुन कुमालले ३६ रन बनाएका थिए ।

यस्तै दिपक डुम्रेले २६ रनको योगदान गरेका थिए । बलिङमा आर्मीका राजेश पुलामीले पाँच विकेट लिँदा भीम शार्कीले तीन विकेट लिए ।