नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल ढाकास्थित बंगबन्धु रंगशालामा अपरान्ह ४ बजेर ४५ बजे शुरु हुनेछ ।

‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । शुक्रबार पहिलो खेलमा नेपाल २-० ले पराजित भएको थियो ।

यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्दै ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ को ट्रफी घरमै राख्ने प्रयासमा हुनेछ फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ ।