थ्री नेसन्स कप : नेपाल किर्गिस्तानसँग बराबरीमा रोकियो

काठमाडौं : थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा नेपाल बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सीमित किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा नेपालले बराबरी खेल्नु परेको हो । यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ । यस खेलको नतिजाले बंगलादेश भने फाइनल पुगेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ ।

बंगलादेशको १ खेलमा ३ अंक रहेको छ । उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।