ज्योति मगरको प्रस्तुति हेर्दा हेर्दै युवाहरूले होश गुमाएपछि …

कञ्चनपुर – कञ्चनपुरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा झडप भएको छ । झडपमा परी ३ प्रहरी सहित केही युवाहरू घाइते भएका छन भने ५ जना पक्राउ समेत परेका छन । कलाकार ज्योति मगर स्टेजमा नाचिरहँदा युवाहरूले होश गुमाएर उत्तेजित हुँदै स्टेजमा चढ्न खोजेपछि झडप भएको हो ।

ज्योति मगरको प्रस्तुतिका बेला उत्तेजित युवाहरुले होहल्ला गर्दै उच्छृंखल गतिविधि गर्न थालेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन खोज्दा तनाव भएको थियो । प्रहरीले भीड नियन्त्रणमा लिन लाठीचार्जसमेत गर्नु परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । त्यसक्रममा ३ जना प्रहरीसहित केही युवा घाइते भएका छन् ।

महोत्सवमा उच्छृंखल गतिविधि गर्ने ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । अहिले भने ती पाँचै जनालाई छाडिसकिएको छ । पक्राउ पर्नेमा भुवन विष्ट, महेन्द्र बुढा, दिलिप विष्ट, अभिषेक खड्का लगायत ५ जना छन् । महोत्सवको स्टेज अगाडि निर्माण भएको काठको पर्खालमा समेत युवाहरुको समूहले क्षति पुर्याएको छ। युवाहरुको समूह मेला सचिवालय रहेको स्टलमा समेत पुगेको थियो ।