गाैतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाकाे नयाँ अभियान घाेषणा

चितवनमा निर्माणनाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले नयाँ अभियान घोषणा गरिएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले बना बनाउन लागेको यो परियोजनामा ‘हाम्रो रंगशाला मेरी कुर्सी’ अभियानको सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो ।

यो अभियान अन्तर्गत रंगशालामा रहने ३० हजार कुर्सीको पछाडि सहयोग गर्नेहरुको नामावली रहने छ । त्यसका लागि एउटा कुसीको मूल्य एक लाख रुपैयाँ रहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी दिए । अभियानबाट ३ अर्ब संकलन हुने बताउँदै कुर्सी बुक गर्नका लागि एक महिना भित्र एप्स सार्वजनिक गर्ने योजना पनि सुनाए ।

यो अभियानले रंगशाला निर्माणमा थप टेवा पुग्ने पनि बताए । अहिले रंगशाला निर्माणको तीस प्रतिशत काम सकिएको पनि बताउँदै अवस्था सहज रहे १८ महिनाभित्र रंगशाला तयार गर्ने योजनामा रहेको पनि जानकारी दिए ।

डीपीआर तयार भएपछि ३ अर्ब ५५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो । त्यसका लागि विभिन्न ठाउँबाट सहयोग संकलन पनि गरिएको छ । साथै गत बर्ष निर्माणस्थलमा धानाञ्चल महायज्ञ नै गरिएको थियो ।

उक्त महायज्ञमा ६९ करोड रुपैयाँ दाताले कबोल गरेपनि अहिलेसम्म १० करोड जति मात्रै जम्मा भएको पनि कट्टेलले जानकारी दिए । अहिलेसम्म ४३ करोड खर्च हुँदा ११ करोडको काम उधारोमै रहेको पनि जानकारी दिए ।

दाताहरुले कबुल गरेको रकम प्राप्त भएमा काम गर्न सहज हुने विश्वास पनि व्यक्त गरे । यस्तै केन्द्रीय सरकारबाट भने आफूले सहयोग नपाएको पनि बताएका थिए । रंगशाला निर्माणको घोषणा गर्दा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोग गर्ने बचन दिए पनि अहिले सम्म केन्द्रीय सरकारबाट सहयोग नपाएको पनि जानकारी दिए ।