एसी मिलान बराबरीमा रोकियो

इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा एसी मिलान बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा भएको खेलमा उपाधि होडमा रहेको एसी मिलान युडिनेससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

युडिनेशका लागि खेलको ६८ औँ मिनेटमा नास्किमिएन्तो फ्रान्काले गोल गरेर सुरुवाति अग्रता दिलाएका थिए । एसी मिलानका लागि इन्जुरी समयमा केसिएले बराबरी गोल गरेका हुन् ।

बराबरीपछि दोस्रो स्थानको एसी मिलानको २५ खेलबाट ५३ अंक भएको छ । शीर्ष स्थानको इन्टर मिलानको २४ खेलबाट ५६ अंक छ ।

बुधबार राति नै सम्पन्न अन्य खेलमा एट्लान्टाले क्रोतोनेलाई ५–१ गोलले, हेलास भेरोनाले वेनेवेन्तोलाई ३–० गोलले, काग्लिएरीले बोलोग्नालाई १–० गोलले तथा रोमाले फियोरेन्टिनालाई २–१ गोलले पराजित गरेको छ ।

यस्तै जेनोआ र साम्पाडोरियाले १–१ गोल तथा सासुओलो र नापोलीले ३–३ गोलको बराबरी खेले ।