इपीएलको उपाधि चितवनलाई, पोखरा ४ विकेटले पराजित

काठमाडौं : चौथो संसकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ ।

शनिबार टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन पहिलो पटक इपीएलको उपाधि जित्न सफल भएको हो ।

उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ भने उपविजेता बनेको पोखराले १५ लाखमा चित्त बुझाएको छ ।

पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

चितवनको जितमा भिम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै दिलिप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए ।

पोखराका किशोर महतोले ४ विकेट लिए । नन्दन यादवले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो ।