आईपीएल : सुपर ओभरमा कोलकता विजयी

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कोलकता नाइटराईडर्सले सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा तीन रनको लक्ष्य २ बल बाँकी छदैं पुरा गरेको हो ।

दुवै टिमले १६३ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा हैदरावादबाट डेभिड वार्नर र जोनी वेरिस्टो क्रिजमा आएका थिए । पहिलो बलमै वार्नर आउट भएपछि क्रिजमा आएका अब्दुल समसदले दोस्रो बलमा २ रन बनाए । तेस्रो बलमा समसद आउट भएपछि वेरिस्टोले बल नै फेस गर्न पाएनन् । सुपर ओभरमा लोकी फर्गुसनले बलिङ गरेका थिए ।

जवाफमा कोलकताबाट दिनेश कार्तिक र इयोन मोर्गन क्रिजमा आएका थिए । उनीहरुविरुद्ध हैदरावादका राशिद खानले पहिलो बल डट फाले । दोस्रो बलमा मोर्गनले एक रन लिँदै स्ट्राइक चेन्ज गरेका थिए । तेस्रो बल डट राखेका राशिदले चौथो बलमा भने लेग बाईका रुपमा कोलकताले दुई रन लिएपछि जित सुनिश्चित भएको थियो ।

आईपीएलमा कोलकताको आईपीएलमा पाँचौं जित हो ।  टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । कोलकताले सुभमन गिलले सर्वाधिक ३६ रन बनाउँदा कप्तान इयोन मोर्गनले ३४ रन बनाएका थिए । यसैगरी नितिश राना र दिनेश कार्तिकले २९–२९ रन बनाए ।
राहुल त्रिपाठीले २३ रनको योगदान गरे । हैदरावादका टी नटराजनले सर्वाधिक २ विकेट लिए ।

१६४ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएपछि खेल सुपर ओभरमा पुग्यो । अन्तिम ओभरमा जितका लागि १८ रन आवश्यक परेका बेला हैदरावादे १७ रन मात्रै बनाउन सक्यो । क्रिजमा रहेका डेभिड वार्नर र राशिद खानले जित भने दिलाउन असफल रहे । वार्नर ४७ रनमा नटआउट रहे । जोनी बेरिस्टोले ३६ रन बनाउँदा केन विलिम्सनले २९ रन बनाए ।
लोकी फर्गुसनले कोलकताका लागि तीन विकेट लिए ।