सम्झनाको मोह, अनाथ अंकल[डिल्ली राम अंमाई ]

एकाएकको रहरले मनलाई तरगिंत बनायो । कसैले सानो आवाजले वोलायो, एउटा तर अझकिलो निर्जरपाखातिर स्वरसँगै पुगें । स्वरमा मिठास भएपनि पाखाको शुष्कताले फेरि अतितको सम्झना गरायो । तातो र मन्द शुष्कतालाई मेरो पुरानो बसाईको अतितसँग तुलना गरें । त्यहाँ हरिया पाखामा वसेर मेरो कथा लेख्ने कलमले चराहरुको भाकामा किरणहरु छर्दथे । ओसिला र मलिला ती जननीका वरदानहरुभित्र गोदावरीमा पुतलीहरु झुम्मिन्थे । किरिकिरी झ्याउकिरीले तीनपुस्ते पिपलको मेरुददण्डमा बसेर रुखको चिलाई मेट्न एउटा झन्कार छोड्दथे । भावनाको गंगा जताजतै क्षितिजको इन्द्रेणी झै छलातुल्ल हुदै आफ्नो गोरेटोको लहर बनाउथें ।

तर आज मेरो मनसँग भावनाको विशालताले त्यो रहरलाई विर्सन सकेको छैन । यो मानवहरुको एकल नृत्यमा पुरानो रहरले किचेर होला मन भुलाउन सकेको छैन । यहाँ मन छ तर भावना नभेटाएको दशकभन्दा बढी भैसक्यो । आत्मीय आत्माको अघिल्लो कथा च्यातिए पनि लेखिएका कथाहरुले क्रमश: आफ्ना भाखाहरु फेर्दै लगेको आभाष हुन थालेको छ । यो अन्त्यतर्फको यात्राले यति छिट्टो आफ्नो गतिमा छलाङ्ग लगाउला भन्ने सोचेको कहाँ थिएँ र ? गल्ती मबाट भयो भन्दा पनि गल्तीको आभाषसँगै काकाकुलहरुसँग रमाउन सकुँला नि भन्ने हिम्मत बोकेर यो अझकिलो निर्जर पाखातिर तनसँगै मन उडेर आयो । भावना त्यहि पानिकटेरीको पारीपट्टि देखिने हरिया छटासँगै शित विन्दुहरुमा टपल्किएर विहानी पहिलो किरणको वैरंगीसँग रंगिन पुग्यो ।
यो निर्जरताको बास विवशताको उपज वाहेक केही थिएन । मैले आफूलाई गाली गर्दो हुँ तर त्यतिवेलाको वाध्यताले उव्जाएको आवेगसँगै समस्याका ऐजेरुले विझाएका दागहरु अझै छन् । ती दाग त्यो सुन्दरता र भावनाको मिठासले मात्र मेट्न पक्कै सक्दैनथे ।
मैले शैषवकालमा देखेका सपनाहरुमा एउटा सोझो रेखा थियो । त्यो रेखा भोगेको जीवनको बक्र रेखाभन्दा बुझिने र निर्मल थियो । सूर्यको किरणजस्तै मध्यान्हको जीवनगतिसँग मेल नखाने त्यो भावनाको तरंग पवित्र थियो । तर जव जीवनले छोपो हाल्दै आफ्ना पखेटाहरुलाई फिजाउँने प्रयत्न ग¥यो । त्यतिवेला ममा त्यो शैशवताको निस्वार्थी भावले साथ दिएन । म एउटा अजंगको भूमरीले लपेटिएँ र आफ्नो कदमलाई तापिलो निर्जन पाखातिर जान दिएँ । मलाई थाहा थियो—“म त्यहाँ पुग्नेछु । तर त्यो मेरो विश्वासभित्र आत्मविश्वासले अर्को पर्दा हालेर बसेको रहेछ । मलाई के थाहा ? कितावी ज्ञानमा त यो निर्जन पाखोलाई सभ्याताको जननी भनेर एउटा सांकेतिक औलाले दिशावोध गरिएको थियो ।
हुन त मेरो जस्तै शुष्कतालाई पनि छाम्न सक्ने सवैको मन नछुन सक्छ, भावनालाई देख्ने आँखा सवैको नहुन सक्छ, भोलिको अध्याँरोलाई स्पर्श गर्ने र च्यातिएका कथाहरुको भोलि अन्त्येष्टि हुने आभाष सवैलाई नहुन सक्छ । तर पनि जानीजानी काकाकुलहरुको वस्तीमा आफ्नो रसिला करेली र भलौदीमा फल्ने काफलगेडीको सम्झनाले सुकेको मुख भिजाउनु पर्दा मन थिउरिने कुरा भएन । विर्सनु पनि कसरी ? दुवैतर्फको तुलना गर्ने, आवेग र संवेगहरुको अनुभवी मन लिएर आएको छु । आत्मिक रुपमै भिजिसकेँ त कसरी भन्नु र जुन १२ वर्षे मनको आमाशयले अझै हजम गर्न सकेको छैन । काकाकुलहरुको यो एकल यात्रालाई मेरा सपनाका कितावी कथाहरुले जीर्ण अनुहार लगाएर टुलुटुलु हर्दै मसँग पुर्नजीवनको भिख मागिरहेका हुन् कि ? वा आफ्नो मनलाई पनि कसैको आसमा पोखेर यिनै काकाकुलहरुसँग नरमाइलो एकल नृत्यको संगित भर्न तम्सिने हुन,त्यो त भविश्यले नै बताउला । अस्तु