” म बिन्दास छु “

दुर्गाकिरण तिवारी, 

अचम्मै लाग्छ ! मलाई कहिलेकाहीँ
तिमी महलमा बसेर
झुपडीका सुख र सन्तोष देख्छौ
डाइनिङ टेबुलमा सजाइएका व्यञ्जन छोडेर
झुप्राको खोलेको प्रशंसा गर्छौ ।

 

अभावमा मुस्कुराउन विवश
निरीह चेहराभित्र लुकेको
पिडा देख्दैनौ हृदय चर्चरी चिरिएर
चिरा परेको देख्दैनौ उकुसमुकुस मनमा
अभावले दन्केको ज्वाला निभाउन
आँखाले कोशी र कर्णाली बनेर
दिनरात बगाएको नुनिलो पानी देख्दैनौ,
गरीबीमा पाएको अपमानको पराकाष्ठालाई
गुन्द्रुकको झोलसँग पिएर
भलै अनुहारमा सजाएको
सौहाद्र मुस्कान देख्छौ
अनि
मखमलमा सुतेर गुनासो गर्छौ
निदाउन नसकेका रातहरूको
झुत्राले ढाकेको भोक निलेर
अधुरा आकाश ओड्ने मान्छेसँग !

 

अनगिन्ती घाउहरूमा
गन्धेझार घोटेर
अनि जमिनको धुलो मलेर
घाउ ओभानो पार्दै
दुखाइ कम पार्ने मान्छे म
स्टार हस्पिटलको महङ्गो सेवालाई
कसरी खरिद गरौं
औषधी कहाँबाट ल्याऔं र
सर्वस्व भत्किएको चोटले आहत मनमा
शीतल मलम कहाँबाट लगाऔं ?

 

तिमी, तिमी सुखमा पनि
दुःख, पीडा, दर्द देखाउँछौ
अनि रुन्छौ र भन्छौ–मेरो सोखभित्रको अभाव
तिम्रो भोकभन्दा विकराल छ
विलासिताले मलाई सकसमा पारेको छ
निद लुटिएको छ खुसी किनेर
हाँस्न सक्दिनँ पैसाले खै किन हो
किनेको खुसी शीतको थोपाजस्तो
छुन खोज्दैमा बिलाएर जान्छ, टिक्दैन
मेरो सम्पन्नताभित्रको दुखाइ
सायद तिमी अन्दाज गर्न सक्दिनौ !

म सोच्छु,
हो मलाई अन्दाज छैन
सम्पन्नतामा मेरो दुखी मस्तिष्क छिर्दै छिर्दैन
म एउटा धर्तीमा टेकेर आकाश ओढेकी मान्छे
कठै ! कसरी जानूँ
महलको त्यो प्यास सुखको ?

 

मलाई मेरै अभाव
र भोक–प्यासको पहिरो छ
पन्छाउँदैमा फुर्सद छैन
सम्पन्नता नभएपछि
त्यसभित्रको दरिद्रता मलाई छोप्नै पर्दैन
भित्रको दुर्गन्ध लुकाउन
बास्नादार अत्तर र क्रीम घस्नै पर्दैन,

 

भलै सस्ता टालेकै लुगा किन नहोऊन्
म ढुक्क छु
मेरो आङ ढाकिएकै छ
लाज निर्धक्क छोपिएकै छ
धर्ती छँदै छिन् टेक्न
र आकाश छँदै छ ओढ्न
म ढुटो पिठोमै खुसी छु
रुखोसुखोमै खुसी र सुखी छु
अझ भन्छौ भने बिन्दास छु
साच्चिकै बिन्दास छु !!

कास्की पोखरा 32,  हाल काठमाडौ