“ मेरो घर मेरो जीवन “

ब्रह्म वाग्ले,बेल्जियम,

मेरो घर मेरो जीवन
रमाईलो माहोलमा पनि
सुनसान छ मेरो घर
न प्रकाश न कसैको पदचाप
विलख बन्द निस्सासिएको हृदय
न रोदन न छटपटाहट
मृत प्राय
भैसकेकोछ मेरो घर !!
कर्ममा विश्वास गर्ने मेरो घर
भाग्यमा विश्वास गर्ने भै सकेछ
कर्म र भाग्यको खेलमा
पिस्सिदा पिस्सिदै
बढदो उमेर संग संगै
मृत प्राय
भैसकेको छ मेरो घर !!
समयको मारमा परि
झ्याल ढोकाहरू मक्की सकेछन्
घरका गाराहरू पनि
हृदयका पन्नाहरू च्यातिए सरह
चर्की रहेछन – ढली रहेछन्
को आफ्नो को पराई
कसैलाई चिन्नै नसक्ने गरि
शायद ! अन्तिम गन्तव्य
कहाँ कहाँ क्षितिज तिर हेर्दै
निशब्द – शान्त
न रोदन न छटपटाहट न पदचाप
निरश- मृत प्राय
भैसकेकोछ मेरो घर – मेरो जीवन !!