” फरक ”

अच्युतराज ढकाल ,बेल्जियम ,

मात्र यति फरक छ तिमी र म बिचको
तिमी जन्मिदा तिम्रो घरमा खुसियाली
छाएको थियो रमिता मनाएका थिए
म जन्मिदा मेरी आमा अस्पतालमा
ठाउँ नपाएर सुत्केरीमै देह उडेको
शरीर जलेको थियो,

यति फरक छ तिमी र म बीचको
तिमीलाई सबैले चिरञ्जीवी भएस् भनेर
आशिर्वाद खुसीले दिइरहेका थिए
त्यतिबेलै म अबोधलाई सबैले आमा टोकुवाको
उपमा दिदै थिए।

यति फरक छ तिमी र म बिचको
तिम्रो नाम चिना पात्र हेरेर पण्डितले राखेका थिए
मलाई दुनियाँले अनेकौं अशिस्ट नामले पुकार्थे
यति फरक छ तिमी र म बीचको
तिमी महलमा बसेर संसार हेर्थ्यौ
मेरो सडकको बास भयो
अनि पापी पेट शान्त पार्न
लागि फोहोरका डङ्गुर चाहार्छु ।
खातेको उपमा प्राप्त गर्दै ।

यति फरक छ तिमी र म बीचको
तिम्रा लागि पढ्न उत्कृष्ट ए लेभलका स्कुल छन
मेरो लागि पढ्न सन्सार भरि
सयोगको लागी फोटो पठाइन्छ निशुल्क पढाइन याचना गरिन्छ
यति फरक छ तिमी र म बीचको
तिमी संसार घुम्छौ सोखमा
म हजार गाउँ डूल्छु जीवन यापनमा

यति फरक छ तिमी र म बीचको
तिमी मर्दा आँसु बगाउने धेरै छन जलाउने
आफ्ना छन पशुपति आर्यघाट छ
म मर्दा लावारिस हुन्छु,

हामी एकै मानव हुँ र पनि
यति धेरै फरक किन यती धेरै बिभेद किन
यति धेरै अन्याय किन मेरो प्रश्न छ
हे भगवान एक चोटी हामीलाई
समान गराईदिन सक्दैनौ?

साच्चै तिमी भगवान हौ सबैबाट पुजिन्छौ
म एउटा सबैबाट तिरस्कृत मान्छे हुँ त्यसैले त तिमीले पनि सुन्दैनौ
”हो भगवान यत्ति फरक छ तिमी र ममा पनि ”