“प्रवासमा राष्ट्रियता ” तारा पौडेल

मैले कहाँ बिर्सिएकी छु र
ती लेक पाखाहरुलाई स्वदेशी सुरिला भाकाहरुलाई
धाननाच, चण्डीनाच, मारुनी र रोधिघरले सधैंभरी आफूतिर खिंचिरहदा पनि
यो दूर देशमा
अपरिचित भाषा भेषमा
आमाको ममता बचाउदै आएकी छु
देशको सहृदयी स्पर्श नै पाएकी छु ।

हिउँले छ्पक्क छोपिएका गगनचुम्बी शिखरहरुले
नदीरुपी अाँसु बगाउँदा
त्यही अाँसुबाट मेरा परिवारले अन्नपानी पाउँदा
प्रवासमा बगेका मेरा अाँसुका ढिकाहरु त्यसै त्यसै फिक्का लाग्छ्न्
ती झरनाहरुसँग सधैं हार्छन् अनि मलाई सम्झाउँछन्
रहरहरु मार्नुपर्छ, अभरहरु टार्नुपर्छ, जहाँ भए नि रमाउनुपर्छ आफ्नो लय समाउनु पर्छ ।।
म जान्दिन राष्ट्रियता
म बुझ्दिन देशप्रेम
तैपनि ,
पाहाडका पाखाहरु,
गाउँ, शहर र मेलाका जीबन्त भाकाहरु
दून, भञ्ज्याङ्, देउराली
असार मासमा खेलेको हिलो अाली
मावल जाँदा हिडेका गोरेटाहरु
शहर छिर्दा प्रयोग भएका साँगुरा मोटरबाटाहरु
पटक्कै भुलेकी छैन

विकाशको चरमता छोएका यहाँका हाइवेहरुमा
त्यो भाव लिएर डुलेकी छैन।

म यहाँ छु को आभाष मलाई कैल्यै भएको छैन
मनबाट त्यो खोक्से खोलो र म्याखा कैले गएको छैन

म राष्ट्रभक्त हुँ कि हुइनँ मलाई थाहा छैन
तर,
पर रहेर पीडा सहेर
आमाकै खुशीको लागी, सन्तानकै सुखका लागि
पराधिनता स्वीकार गरेर
मनमा कठोरता भरेर
ड्युटीको हरबखत धपेडीमा पनि
दशै, तिहार, ल्होसार, उधौली, उभौली चण्डी नाचमा रमाएकै छु
मेरोबारी, मेरो घारी, मेरो भाषा, मेरो देश भनेर धाक जमाएकै छु
पशुपतिनाथ, लुम्बिनी, जानकी मन्दिर, पाथीभरा, लारुम्बा नसम्झेको दिन छैन
तमोर काबेली नसम्झेको छिन छैन ,

थकित भावमा चम्किलो प्रभाव यिनैले पारिरहेका छन्
प्रवासको एक्लोपना यिनै सम्झनाहरुले मारिरहेका छ्न्
तिनै भिर पाखा र लेक बेंसीसँग
यहाँका अलिशान आधुनिक भवन र सडकहरु हारिरहेका छन्
तर,
म जान्दिन देश प्रेम
म बुझ्दिन राष्ट्रियता
(म देश भक्त हुँ कि होइन त्यो पनि मलाई थाहा छैन )२ ।।।।