डा. चिन्तामणि योगीद्वारा लिखित गोरखवाणी पुस्तकको लोकार्पण

काठमाडौँ – गुरु गोरखनाथका वाणीमा आधारित डा.चिन्तामणि योगीद्वारा लेखिएको ‘गोरखवाणी’ पुस्तक सार्वजनिक भएको छ ।

उक्त पुस्तकको लोकार्पण पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्यालले गरेका हुन् । पुस्तक सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि प्राडा अर्यालले गोरखवाणी सधैँका लागि र सबैका लागि उपयोगी हुने भएकाले यस पुस्तकको बढीभन्दा बढी प्रचारपसार हुनुपर्ने बताए ।

लोकार्पित पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले आजको व्यस्त र अव्यवस्थित जीवनलाई सार्थक बनाउन ‘गोरखवाणी’ निकै सहयोगी हुने धारणा राखे ।

पुस्तकका लेखक डा.चिन्तामणि योगीले नेपालको राष्ट्रिय इतिहासको गौरव, गरिमा, पृथ्वी नारायण शाहलाई  दिएको आशिर्वाद र एकीकरणको संदेशका लागि गुरु गोरखनाथप्रति नेपाली समाज सधै ऋणी रहेको बताए।  “गोरख भूमि नेपालको दायित्व बोधका लागि विभिन्न प्रकारका जन्जाल भन्दा माथि उठेर शुद्ध, अलख निरन्जन तत्व बोधका लागि, वीर गोर्खा, गोर्खाली र गाइको समन्वयात्मक गरिमा कायम गर्न ५१ ओटा प्रवचनको संगालोको रुपमा यो पुस्तक प्रकाशित गरिएको छ।  आदिनाथ, मत्स्येन्द्र नाथ, गोरखनाथ लगायत समस्त नाथ परम्पराबारे जानकारी दिन यो पुस्तक उपयोगी  हुने मैले विश्वास लिएको छु,” लेखक योगीले भने।

नयाँ वर्षकोे उपलक्ष्यमा शान्ति सेवा आश्रमले आयोजना गरेको कार्यक्रममा विश्व हिन्दू महासंघका अध्यक्ष डा.रामचन्द्र अधिकारी, समाजसेवी किरण थापा, इन्जिनियर  राजुप्रसाद उपाध्याय, मिडिया सर्भिस नेपालका रमेश खड्का, मन्जु भट्टलगायतले शुभकामना व्यक्त गरेका थिए ।